क्वालालम्पुर (मलेसिया):= विगत दुई दशकदेखि मलेसियामै व्यापार–व्यवसायमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका वरिष्ठ उपाध्यक्ष बलध्वज लिम्बूले नेपालमा बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि रु. १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
लिम्बूले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै (डाइरेक्ट ट्रान्सफर) जम्मा गरी प्रदान गरेका हुन्। नेपालमा आएको बाढीका कारण विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो व्यक्तिगत तर्फबाट उक्त सहयोग गरेको बताउनुभयो ।
मलेसियामा लामो समयदेखि व्यवसाय गर्दै आएका लिम्बू सुरक्षा गार्डसम्बन्धी व्यवसायसँगै अन्य व्यापार–व्यवसायमा समेत सक्रिय छन्। आफ्नो व्यावसायिक गतिविधिसँगै उनी मलेसियामा रहेका नेपाली संघसंस्था र नेपाली समुदायका सामाजिक तथा मानवीय गतिविधिमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्।
मलेसियामा कुनै नेपाली श्रमिक वा समुदायका सदस्य समस्या तथा विपद्मा पर्दा उद्धार तथा सहयोगका लागि अग्रसर हुने लिम्बू एनआरएनएको नेतृत्व तहमा रहेर नेपाली समुदायका समस्या समाधान तथा हकहितका विषयमा समेत आवाज उठाउँदै आएका छन्।

विशेषगरी मलेसियामा रहेका गैरआवासीय नेपालीहरूको हक, अधिकार, सुरक्षा तथा कल्याणका विषयमा सम्बन्धित निकायसँग समन्वय र पैरवी गर्नुपर्ने विषयमा लिम्बूले विभिन्न समयमा आफ्नो धारणा राख्दै आएका छन्।
नेपालमा विपद्का बेला प्रवासमा रहेका नेपालीले आफ्नो सामाजिक दायित्व सम्झेर सहयोग गर्नुपर्ने बताउँदै लिम्बूले बाढीपीडित नागरिकको उद्धार तथा राहतमा आफ्नो सानो सहयोगले भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाएका छन्।
लिम्बूको यो सहयोगले नेपालमा विपद्को समयमा प्रवासमा रहेका नेपालीहरूबाट नेपालप्रतिको मानवीय ऐक्यबद्धता र सहयोगको भावना थप बलियो रहेको देखिन्छ।




















