लक्ष्मी हेल्प फाउन्डेसनको अध्यक्ष अधिकारीद्वारा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग

क्वालालम्पुर(मलेसिया):= भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लक्ष्मी हेल्प फाउन्डेसनले रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

फाउन्डेसनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रका DRC नारायण अधिकारीले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएका छन्। बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक मानवीय सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले फाउन्डेसनको तर्फबाट उक्त रकम प्रदान गरिएको अधिकारीले बताएका छन्।

यसैबीच, लक्ष्मी हेल्प फाउन्डेसनले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढीका कारण बेपत्ता रहेकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।फाउन्डेसनले विपद्को यस दुःखद घडीमा प्रभावित परिवारहरूको साथमा उभिन सबैलाई आ–आफ्नो स्थानबाट सक्दो मानवीय सहयोग गर्न अपिल गरेको छ।

अधिकारीले प्राकृतिक विपद्का बेला पीडित नागरिकको उद्धार तथा राहतमा राज्यको प्रयाससँगै सामाजिक संघसंस्था, प्रवासी नेपाली समुदाय तथा आम नागरिकको सहयोग पनि महत्वपूर्ण हुने बताएका छन्। लक्ष्मी हेल्प फाउन्डेसनले गरेको उक्त सहयोगले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ।