क्वालालम्पुर (मलेसिया):= नेपालमा हालै चीन – रसुवा नाकाहुँदै आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मलेसियामा एकदमै सक्रिय सामाजिक संस्था हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमितिसहित शाखा समितिहरूले जम्मा गरि रु. १ लाख ५ हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
हेल्प मधेसी मलेसियाको जोहर, केएल र सेरेम्बान शाखा लगायतका समितिहरूको संयुक्त बैठकबाट केहि दिन पहिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, खाद्यान्न तथा बासको व्यवस्थाका लागि सहयोग गर्ने निर्णय गरिएको थियो।
सोही निर्णयअनुसार रु. १,०५,०५१ (एक लाख पाँच हजार एकाउन्न रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको हो। बैंकको भुक्तानी रसिदअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। भुक्तानी २८ अगस्ट २०२६ बिहान ७:४४ बजे सफल भएको देखिन्छ।
हेल्प मधेसी मलेसियाले विपद्को यस कठिन समयमा बाढीपीडित नेपालीहरूको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ। संस्थाले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ विपद्मा परेका नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
नेपालको रसुवा क्षेत्रमा आएको बाढीले सडक, पुल तथा सञ्चार संरचनामा ठूलो क्षति पुर्याएको र उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको पछिल्ला विवरणहरूले देखाएका छन्।




















