कविता : समान कर्म विभेद मर्म

गरिब मर्छ भोकले, सहस्र यात्रा चोटले ।

धनीको धन धेर हुँदा, मरण बन्छ शौखले ।।

रमाइ मोज गर्दछ, मदिरा नित्य भोजले ।

गरिब हड्डि काम्दछ, कयौँ दिन भोकले ।। १ ।।

नमार लात पेटमा यी हात मुख जोर्न देऊ ।

विभेद छताछुल्ल छ समान नारा भो नदेउ ।।

यी नारा ध्वस्त बनाउँ, यो पापी पेटले भन्दैछ ।

अमिर नोट शिरानी, मनमा राँको बल्दैछ ।।२ ।।

कहाँ छ खै र ? समानता विद्रोह घोर गरौँ कि ?

भोकै र नाङ्गो मर्दैछन्  समान कर्म गर्ने ती ।

अमिर गरिब बिचको विभेद खाडल पुरौँ न ।

प्रदीप्त भै चम्केर,प्रभात नजाग्दै पुगौँ न ।।३ ।।

चिरेर दम्भ कलेष, अमिरहरुको टक्सार ।

दरिद्र आत्मा धोएर दुखीको चित्त लक्षार ।।

जोडेरै दशऔँला यी, याचक याचना गर्दछ ।

अमिर मन्च चढेर, श्रम कै भाषण  गर्दछ ।।४ ।।

महल माथि उक्लिँदा धर्तीको धुलो विर्सियो ।

विरोधसंगै भत्सर्ना गरिब सधैं चेपियो ।।

जे जस्तो परे सहौँला, देशका निम्ति हाँसौला ।

नगर्नु घात राष्ट्रलाई शहिद वीर भै बाँचौँला  ।।५ ।।

समान देख्नु अमिरी, गरिबी मन दाँजेर ।

भोज र मोज नगरौँ जवानका पेट बाँधेर ।। 

तरन रुख्खा सुख्खाले, सेवामा जुट्छ परान ।

अमर देश राख्नलाई, बाँचेका छन् यी जवान ।।६ ।।

 -सर्लाही 

हाल : भैसेपाटी ललितपुर