खुल्यो यातायात, बढ्यो चहलपहल

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमका कारण करिब ६ महिनादेखि बन्द रहेकोे लामो दूरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालनमा आएका छन् । त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा चलपहल सुरु भएको छ । बसपार्क खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केर निसंक्रमण गरेको छ । यस्तै, बिहीबारबाटै कम्युटर प्रणालीमार्फत टिकट बुकिङसमेत खुल्ला भएको बसपार्क व्यवस्थापनले जनाएको छ । 

कोरोना महामारीको जोखिमबीच बिहीबारबाट सबै प्रकार सार्वजनिक यतायात सञ्चालनमा आएका छन् । करिब ६ महिना बन्द रहेको लामो दूरीका यातायातसमेत सञ्चालनमा आएका हुन् । त्यसैले बिहीबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि चहलपहल देखिएको थियो । यात्रुहरूको चहलपहल सुरु भएसँगै नयाँ बसपार्क क्षेत्र वरिपरि निसंक्रमण गर्ने काम भएको साथै यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसभित्रसमेत औषधि छर्किएको थियो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसपार्क क्षेत्रमा भौतिक दूरी कायम गर्न मार्किङ गर्ने, ¥यालिङ राख्ने, तथा विद्युतीय प्रणालीमार्फत टिकट बुकिङ गर्न सकिने व्यवस्था पनि गरेको छ । ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोखिमलाई अवसरको रूपमा लिँदै बिहीबारबाट विद्युतीय प्रणालीमार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था सुरु गरिएको बताउनुभयो । उहाँले विस्तारै टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी अनलाइनबाटै टिकट काट्न सक्ने गरी तयारी भइरहेको बताउनुभयो ।

बिहीबार लामो दूरीको यातायात सञ्चालनमा आएको पहिलो दिन यात्रुहरूको चाप भने सामान्य रहेको थियो । नेपाल यातायात मजदुर संघका उपाध्यक्ष सुमन लामाले ५० प्रतिशत बढी भाडा लिएर सरकारले तोकेको मापदण्डअनुसार नै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म लैजाने वातावरण निर्माण गरिएको बताउनुभयो । काठमाडौंको गौशाला, कोटेश्वर, कलंकी, गोंगबु, बल्खुलगायत क्षेत्रबाट लामो दूरीका सवारीसाधन विभिन्न जिल्लामा जाने गरेका छन् । ती क्षेत्रमा पनि बिहीबारदेखि मानिसहरूको चहलपहल बढेको देखिएको थियो ।