‘आत्मबल नै कोरोनाको औषधि रहेछ’– कलाकार टंक बुढाथोकी

काठमाडौं, गायक तथा संगीतकार टंक बुढाथोकी काठमाडौंमा लकडाउन खुकुलो भएसँगै आफ्नो नयाँ गीत ‘कसरी कसरी ३’को तयारीमा हुनुहुन्थ्यो । गीत रेकर्ड तथा भिडियोको छायांकन तयारी गर्दा विभिन्न मानिससँग भेट भयो र छायांकन भयो । छायांकनको क्रममा स्वास्थ्य सुरक्षा अपनाएको उहाँ बताउनुहुन्छ ।

छायांकन सकिएको केही दिनपछि पुतलीसडकस्थित आफ्नो कार्यालय स्टुडियो नाइनमा सम्पादनको काम गर्नेक्रममा मामा पर्ने एकजना छायांकनमा सँगै रहनुभएको र पछि केही दिनसँगै काम गर्ने क्रममा नजिक हुनुभयो । केही दिनपछि टंकलाई हल्का खोकी तथा टाउको भारी हुन थाल्यो र कोरोना परीक्षण गर्नेक्रममा पोजेटिभ देखियो ।

टंकले कोरोना पोजेटिभ देखिँदा सुरुमा आफूलाई निकै डरलागेको सुनाउँहुन्छ । दैनिक देश तथा विदेशका समाचार पढिरहँदा आत्मबल कमजोर भएको उहाँ बताउनुहुन्छ । ‘नेपालमा आज यति जनाको मृत्यु भयो, यतिजना संक्रमित भए भन्दै दैनिक आउने समाचारले मनमा डर पैदा भएको थियो । कोरोना पोजेटिभ हुँदा म पनि निकै डराएँ, कतै केही भइहाल्ने होकि भन्ने चिन्ता भयो’, टंकले हिमालय टाइम्ससँग भन्नुभयो, ‘पछि चिकित्सकसँग तथा अन्य अग्रह व्यक्तिहरूसँगको परामर्शले आत्मबल बढ्दै गयो ।’

गत भदौ १५ गते कोरोना संक्रमित हुनुभएका टंक १५ दिनपछि कोरोना मुक्त हुनुभयो । त्यसपछि एकसाता होम आइसोलेसनमै बसेर नियमित काममा फर्किनुभएको छ । संक्रमित हुँदै गर्दा होम आइसोलेसनमा बस्दै गर्दाको समयमा कोरोनासँग सम्बन्धित कुनै पनि अपडेट नहेरेको र मन रमाउने खालका भिडियो हेरेको उहाँको भनाइ छ । ‘विशेषगरी मन भुलाउन कमेडी सिरियल तथा गीतका भिडियोहरू हेरेर मनलाई खुशी बनाउने कोसिस गरेँ’, टंक भन्नुहुन्छ ।

टंकले आफूमा कोरोना संक्रमण भइसकेपछि घरका अन्य सदस्यमा पनि कन्ट्याक ट्रेसिंगको आधारमा परीक्षण गर्ने क्रममा कसैमा संक्रमण नदेखिएको बताउनुभयो । परिवारमा श्रीमती र दुई छोरासँगै, आफूसँगै रहेका बालगायक अशोक दर्जीमा पनि कोरोना नेगेटिभ आएको उहाँले बताउनुभयो । टंक भन्नुहुन्छ, ‘घरमा बाबुहरू सानासाना छन् त्यसैले बढी डर थियो । केही लक्षण देखिएजस्तो हुँदाबाटै बाबुहरूबाट टाढा बसेँ ।’

टंकले कोरोना संक्रमण भइसकेपछि बाहिर हल्ला सुनिएजस्तो नभएको बताउँहुन्छ । ‘बाहिर कोरोनाको भ्रम निकै ठूलो छ, घरमै रहेर थोरै सजगता अपनाइयो भने कोरोनाबाट बच्न सकिन्छ । यदि लागिहाल्यो भने पछि नआत्तिनुस् आत्मबल नै यसको औषधि रहेछ’, टंकले अनुभव सुनाउँदै भन्नुभयो, ‘घरमै तातो पानी, बेसार पानी नियमित लिने । मिटामिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा मनमा कोरोनाले ज्यान नै लैजान्छ भन्ने भ्रम छ त्यो हटाउनुपर्छ ।’

टंकले सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै आम मानिसमा सन्देश दिनुभएको छ । विशेषगरी समुदायमा अझै कोरोनाको भ्रम नहटेकाले केहीलाई भए पनि परिवर्तन गर्न मद्धत पुग्ने मनसायले आफूले भिडियो सन्देश दिएको उहाँ बताउनुहुन्छ ।

टंकको ‘कसरी कसरी ३’ गीत आउँदो बुधबार सार्वजनिक हुँदैछ । सम्पादन भइरहेको उक्त गीतमा टंकसँगै, मेलिना राई र एआर बुढाथोकीको स्वर छ । ‘कसरी कसरी’ गीत टंकको लोकप्रिय सिरिज हो । यसअघिका दुईवटा सिरिज दर्शक तथा श्रोताले निकै मन पराएका छन् ।