चुनाव हारेकालाई सांसद बनाउने अत्यधिक मतले जितेकालाई जेलमा कोचिराख्ने ? : डा.भट्टराई।

काठमाडौं := सरकार सञ्चालन गरिरहेका पार्टी नेकपाले प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया अघि बढाएपछि जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले उक्त विषयलाई जेलमा रहेका रेशम चौधरीसँग जोडेका छन्।

२०७४ सालको निर्वाचनमा वामदेव गौतम बर्दिया–१ बा चुनाव लड्दा पराजित भएका थिए भने रेशम चौधरी कैलाली–१ बाट ३४ हजार बढी अत्यधिक मत ल्याएर विजयी भएका थिए।
तर, राज्यद्वारा २०७२ साल भदौ ७ गतेको टीकापुर घटनाका मुख्य दोषी करार भएका चौधरी अहिले काठमाडौको डिल्लीबजारमा रहेको कारागारमा छन्।

यता नेकपाले प्रधानमन्त्री बन्ने दृढ महत्वकांक्षाका साथ अघि बढेका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरी थप प्रक्रियाका लागि सिफारिस समेत गरिसकेको छ ।
गौतमलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गर्नेछिन्। संविधानमा चुनावमा हारेको व्यक्ति मन्त्री समेत हुन नपाउने व्यवस्था छ । पूर्व उपप्रधानमन्त्री गौतमको दृष्टि प्रधानमन्त्रीको कुर्सीमा छ । यसका निम्ति नेकपाले संविधान नै संशोधन गर्ला या अरु हुन सक्ने सम्मका सबै जुक्ति अपनाउने अनुमान गरिएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले चुनाव हारेकालाई संविधानको मर्मविपरीत जस्केलाबाट छिराएर सांसद र मन्त्री बनाउने तर अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमै कोचिराख्ने कस्तो लोकतन्त्र भन्दै प्रश्न गरेका छन् ।
टीकापुर घटना राजनीतिक घटना भएकोले राजनीतिक ढंगबाटै समाधान गर्नुपर्ने बताउँदै आएका भट्टराईले थप लेखेका छन्, ‘विमान अपहरण, झापा विद्रोह, जनयुद्ध, मधेस विद्रोह राजनीतिक क्रान्ति हुने तर थारु विद्रोह अपराध ?’

स्मरण रहोस् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले गत १३ सेप्टेम्बरमा पहिलो पटक औपचारिक रुपमा संयुक्त विज्ञप्ति जारी गरी चौधरीलाई रिहा गर्न सरकारसँग माग गरेको थियो । सोअघि यादव र ठाकुरले सार्वजनिक कार्यक्रममा बोल्दै आएका थिए भने उनीहरुका मधेसी तथा आदिवासी कार्यकर्ताहरुले पटकपटक यो विषय उठाउदै आएका थिए।