सरकारले दिएको जिम्मेवारी पूरा गरेको कुलमान घिसिङको स्पष्टोक्ती

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलबार प्राधिकरणमा औपचारिक विदाई  गरेका छन् । उक्त बिदाइ कार्यक्रममा बोल्दै घिसिङले सरकारले दिएको अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने जिम्मेवारी आफुले पूरा गरेको बताउनु भएको छ ।

 घिसिङको ४ वर्षे कार्यकाल  आइतबार सकिएको थियो ।

उहाँको बिदाइसंगै प्राधिकरण यतिबेला कार्यकारी निर्देशक विहिन भएको छ  ।

 सरकारले हालसम्म नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छैन। सोमबारको मन्ित्रपरिषदको बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने अनुमान गरिएको थियो तर, त्यो विषयमा कुनै निर्णय भएन । 

 मंगलबार प्राधिकरणमा आफ्नो विदाइमा आयोजित कार्यक्रममा घिसिङले मन्तव्य दिँदै आफूले पाएको जिम्मेवारी पूरा गरेको बताउँदै आफू २०७३ मा कार्यकारी निर्देशकमा नियुक्त हुँदा वर्षामा ६ देखि ८ घण्टा लोडसेडिङ रहेको र हिउँदोमा १४ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको भन्दै आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर देशलाई अन्धकारबाटर मुक्त गरेको बताउनु भएको छ ।

 उक्त विदाइ कार्यक्रम बोल्दै उहाँले भन्नु भयो, ‘प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो। प्राधिकरणको आव २०७२–०७३ सम्ममा संचित घाटा रु ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो। एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो । अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो। प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए। सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो।’

उहाँले थप्नु भयो, ‘वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौं। २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो। लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्‍यो। विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको उहाँको भनाइ थियो ।

घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणको आर्थिक अवस्था पनि सुधार गरेको बताउदै भन्नू भयो, ‘मैले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो। दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ।”