बेनी बजारमा बाढीको वितण्डा (फोटोसहित)

म्याग्दी । गतरातिको भीषण वर्षासंगै बाढी आउँदा म्याग्दीको सदरमुकाम बेनीबजारको विजोग भएको छ । बजारदेखि माथिरहेको बेनी पाखापानी सडकको अर्थुङ्गे आँपारुख खण्डबाट आएको बाढीे बेनीबजारको क्याम्पस चोक,अस्पताल चोक र बसपार्क क्षेत्रमा पसेपछि यहाँको जनजीवन प्रभावित भएको छ । क्याम्पसचोकका एक दर्जन घर र सडकमा लेदो थुप्रिएको छ ।

बाढीले सहज निकास नपाउँदा बजार क्षेत्रमा पसेको हो । पानीको निकासका लागि बनाइएको साँघुरो नाली फुटेर बाढी बजार क्षेत्रमा पसेको स्थानीयले बताएका छन् ।

ग्रामिण कृषि सडक विस्तार, स्तरोन्नतिमा उचित ध्यान नदिने,सडक खण्ड च्यापेर घर बनाउने र नाली फराकिलो नभएको जस्ता कारणले ठूलो वर्षा हुनेवित्तिकै बजारका यी क्षेत्रमा बाढीले वितण्डा मच्चाउने गरेको छ । ठूलो पानी पर्दा यहाँका वासिन्दाहरु जाग्राम बसेर रात विताउनु पर्ने वाध्यता छ ।

केही घरहरुमा बाढी पसेको छ । माथिल्लो क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ । त्यहाँबाट जथाभावि फालिएको ढुङ्गा र माटो पानीआउँदा बगेर बजारमा क्षति पुर्याउने गरेको स्थानीय ताराप्रसाद श्रेष्ठले बताए । ढललाई व्यवस्थित बनाइ जथाभावि बनाइएका संरचनाहरु नै फेरबदल गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्कमा लेदो थुप्रिएको छ ।अस्पतालचोकबाट जामुनाखर्क जोड्ने कच्ची सडकको विस्तारसंगै बस्ती माथिको पाखोमा रहेको खोल्साबाट बाढी आएपछि क्याम्पसचोकमा असर गरेको स्थानीयले बताएका छन् ।

लेदो र ढुङ्गा सहितको बाढीले बसपाकमा पार्किङ गरिएका सवारी साधनमा क्षति पुर्याएको छ । बेनीबजारको क्याम्पस चोकमा विसं २०६३,२०६९,२०७२ र २०७३ सालमा पनि ठूलो बाढी आएर क्षति पुर्याएको थियो ।