रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्यो

काठमाडौं । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताउनुभयो । यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङमती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने उहाँले बताउनुभयो । 

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवाहरू र प्रहरीबीच झडपसमेत भएको थियो । युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पु¥याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याएका थिए ।