लम्पी स्किन रोग पाँचवटा प्रदेशमा फैलियो, भ्याक्सिन ल्याउन बजेट छैन

काठमाडौं । नेपाललगायत विश्व समुदाय कोरोना महामारीबीच गुज्रिरहेको वेला नेपालमा भने पशुमा अर्को महामारी फैलिएको छ । पशुमा लाग्ने लम्पी स्किन रोगले क्रमशः महामारीको रूप लिँदै गएको हो । तर कोरोना महामारीका कारण यो रोग ओझेलमा परेको छ । अफ्रिकी मुलुक हँुदै भारत, चीन र बंगलादेशपछि नेपालमा पनि केही महिनाअघिमात्रै लम्पी स्किन रोग देखापरेको थियो । 

रोग देखामात्रै परेको छैन, केही पशु सोही रोगले मरिसकेका छन् । पशु सेवा विभागको प्रारम्भिक तथ्यांकअनुसार १ हजार ५ सय गाईमा यो रोगको संक्रमण पुष्टि भएको र १२ वटा गाई मरेका छन् । तर कोरोनाका कारण पछिल्लो अवस्थाबारे विभागले पनि जानकारी लिन सकेको छैन । 

विभागका महानिर्देशक डा वंशी शर्माले लम्पी स्किन रोग फैलिने क्रम जारी रहेको र पछिल्लोपटक दाङ, कास्की र तनहूँमासमेत संक्रमण देखापरेको हिमालय टाइम्सलाई बताउनुभयो । त्यसो त हाल संक्रमण फैलिँदो क्रममा रहे पनि आगामी कात्तिकदेखि घट्दै जाने उहाँको आंकलन छ । जाडो सुरु भएसँगै संक्रमण कम हुँदै जाने उहाँको भनाइ छ । लम्पी रोग लामखुट्टे, झिंगा, किर्ना आदिको टोकाइबाट सर्नेगर्छ । यसबाहेक संक्रमित गाईभैंसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट सर्ने गर्छ । 

शर्माले हिमालय टाइम्ससँग भन्नुभयो, ‘कोरोना लकडाउन, निषेधाज्ञाका कारण यो फैलिने क्रम बढेको हो, कोरोनाका कारण विभाग आफैं सक्रमित क्षेत्रमा पुगेर केस हेर्नसक्ने अवस्था पनि छैन । तथापि स्थानीयस्तरबाट नियन्त्राणको पहल भइरहेकोे छ ।’ उहाँले लम्पी रोग संक्रमित पशु मृत्युदर नगन्य रहेकाले डराइहाल्नुपर्ने अवस्था भने नरहेको दाबी गर्नुभएको छ । मृत्युदर कम भए पनि यस्तो रोग लागेको पशुको उत्पादकत्व घट्ने भएकाले रोकथाम भने आवश्यक रहेको शर्माले बताउनुभएको छ । त्यसैले लम्पी रोग नियन्त्रणका लागि भ्याक्सिन ल्याउने तयारी भइरहेको छ तर बजेट अभावले केही समय लाग्ने देखिएको छ । बजेटका कारण तत्काल भ्याक्सिन आयातमा समस्या भए पनि अर्को वर्षसम्म भ्याक्सिन ल्याउनेगरी आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो । भ्याक्सिन निरोगी पशुमा दिएर रोगलाई अन्यत्र फैलिन रोकिने उहाँको भनाइ छ ।

तर भेटेरिनरी एसोसिएसन नेपालले भने रोग नियन्त्रणका लागि तत्काल भ्याक्सिन ल्याउन माग गरेको छ । लम्पी स्किन रोग महामारीका रूपमा फैलिँदै गएको भन्दै एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बजेट अभावको कारण देखाएर सरकार पन्छिन नमिल्ने बताउनुभयो । श्रेष्ठले हिमालय टाइम्ससँग भन्नुभयो, ‘लम्पी स्किन रोगले महामारीको रूप लिइसक्यो, ६ र ७ प्रदेशवाहेक अन्य प्रदेशमा संक्रमण देखिएको छ, समयमै नियन्त्रण नगरेमा यसले भयावह रूप लिन सक्छ । सरकारसँग बजेट नभए भ्याक्सिनका लागि निजी क्षेत्रलाई स्वीकृति दिनुप¥यो ।’ पशुमा लम्पी स्किन रोगका कारण दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने देखिएकाले यसलाई समयमै नियन्त्रण गर्न नसकेमा आगामी दिनमा नेपालमा दुग्ध क्षेत्र संकटमा पर्नसक्ने पनि उहाँले बताउनुभएको छ । श्रेष्ठले भन्नुभयो, ‘सरकारले चाहृयो भने बजेट अभाव हुँदैन । कोरोनाका लागि पनि त बजेट थिएन तर पछि स्रोतको व्यवस्था भयो, यसमा बजेटको व्यवस्था गर्न सकिन्छ ।’ 

चिन्ताका विषय त यो छ कि यो रोग भैंसीमासमेत देखिन थालेको छ । दूधमा आत्मनिर्भरोन्मुख नेपालका लागि यो गम्भीर चिन्ताको विषय हो । रोगको संक्रमण बढ्दै गएमा रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण नेपालबाट हुने गरेको छाला निर्यातमासमेत नकारात्मक असर पर्नसक्नेछ । पशु सेवा विभागकी प्रवक्ता डा. संझना काफ्लेका अनुसार सुरुमा मोरङ, रौतहट, चितवन र मकवानपुरका ३४ वटा नमुना परीक्षण गर्दा सम्पूर्ण नमुनामध्ये १ हजार ५ सय गाईमा यो रोगको संक्रमण देखिएकोमा पछिल्लो पटक काठमाडौं काभ्रेलगायतका जिल्लाबाट पनि पोजेटिभ रिर्पोट आएको थियो । 

काफ्लेका अनुसार नेपालका यो रोग नियन्त्रण सहज छैन, अन्य मुलुकमा रोग देखिनेवित्तिकै गाईलाई मार्ने प्रचलन रहेकोमा नेपालमा भने त्यो संभव नरहेको र खोप पनि उपलब्ध नरहेकाले जोखिम बढ्ने देखिएको छ । लम्पी स्किन रोग विभिन्न प्रकृतिको हुने र पहिचानविना खोपको प्रयोग गरिएमा पशुमा थप जोखिम निम्तिन सक्ने उहाँको भनाइ छ । 

लम्पी स्किन रोग लागिसकेको पशुबाट दूध उत्पादनमा ८० प्रतिशतसम्मले कमी आउनसक्छ । उक्त रोग लागेर निको भएका गाईभैंसीबाट पनि दूध उत्पादन २० देखि ८० प्रतिशतले घटेको सम्बद्ध किसानले गुनासो गरेका छन् । 

यसको विश्वव्यापी मृत्युदर १० प्रतिशतसम्म रहेको छ भने यो रोग वर्षायामा देखिने र हिउँद महिनामा हराउँदै जाने प्रकृतिको हुन्छ, रोग सर्ने क्रम सुस्त हुन्छ, एक दिनमा एक किलोमिटरभन्दा टाढा जान सक्दैन । लम्पी स्किन रोग विशेषगरी गाईमा र भैंसीमासमेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । यस रोगका मुख्य लक्षणमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, कचेरा र सिंगान बग्ने तथा मुखबाट फिंज धेरै निकाल्ने, बाँझोपना हुनेहुन्छ ।

विभागका अनुसार सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तानलगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्त्यतिर भारतमासमेत देखापरेको थियो । नेपालमा भने असारको अन्तिम साता मोरङका केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षण देखापरेको सूचना प्राप्त भएको थियो ।