वर्तमानमा श्रमजीवीको अवस्था

कोरोनाका कारणले सबैभन्दा बढी श्रमजीवीहरू मारमा परेका छन् । श्रमिकहरूले स्वदेशी तथा विदेशी रोजगार गुमाउनुपरेको अवस्था छ । गरिबी, विपन्न वर्ग, न्यूनआय भएका श्रमिकहरूको जीविकोपार्जनमा धेरै असर परेको पाइन्छ । जसले धेरैको रोजिरोटी गुमेको छ, कैयौं डिप्रेशनका सिकार भएका छन् त कैयौं आत्महत्या गर्न विवश बनेका छन् । बेरोजगार कामदारका लागि रोगभन्दा भोक महारोग बनेको छ । 

आफ्नै देशमा बेरोजगार बनेपछि परिवारको लालनपालन र भोको पेटलाई थाती राखेर कुम्लो बोक्न युवाहरू बाध्य बने, पलायन भए वैदेशिक रोजगारको खोजीमा विभिन्न मुलुकतर्फ श्रम बेच्न लाखौं युवाहरू विवश भए । हाल कम्पनीले बिदा गरिसका आर्थिक समस्या व्यहोर्नु परिरहेको छ । तसर्थ उनीहरू स्वदेश फर्केर घरपरिवारलाई भेट्न लालयित बनेका छन् । त्यसैमा स्वदेश फर्कन चाहने श्रमिकका लागि फर्काउन तयार गरिएका एअरलाइन्सहरू पटकपटक रद्द गरिँदा युवाहरूको घर फर्कने सपना चकनाचुर भएको छ । 

केही दिनअगाडि स्वदेश फर्कन विमानस्थल पुगेका २ सय ३६ जना कामदारलाई नलिई नेपाल एयरलाइन्सको जहाज रित्तै फर्किँदा श्रमिक एअरपोर्टमै अलपत्र परेका थिए यो घटना दुबईको थियो । केही घण्टाअगाडिमात्र ती कामदारले रद्द भएको जानकारी पाएका थिए । स्वदेश फर्कने आसमा रहेका मजदुरलाई विमानस्थलमै अलपत्र छाडेर जहाज फर्किएपछि उनीहरू घर न घाटका बन्नपुगे । 

यसरी अर्काको जीवनमाथि खेलवाड गर्न कसैलाई अधिकार हुँदैन, त्यतिबेला यदि फर्काउन कुनै प्रावधान नपुगे वा कुनै कारणले छेके पूर्वसूचना दिन सक्नुपथ्र्याे । श्रमिकहरू दर्दनाक परिस्थितिमा परेका बेला विद्यमान श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालयका काम, कर्तव्य र अधिकार के हो र केका लागि यी मन्त्रालयहरू स्थापित गरिएका हुन् ? मन्त्रालयका मन्त्रीहरूको भूमिका के यही हो ? श्रमिकहरूलाई अब सरकारले जवाफ दिन सक्नुपर्छ ।

वैदेशिक रोजगार नेपालका लागि आकर्षक पेशा हो, वैदेशिक रोजगारबाट नेपालीहरूले श्रम बेचेर स्वदेश पठाउने रेमिट्यान्सबाट आधा अर्थतन्त्र ओगटेको अर्थात् देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ । स्वदेशमा हेर्दा बाटाको छेउमा ढुंगागिट्टी कुट्नेदेखि लिएर इँटाभट्टा, उद्योगधन्दाका श्रमिकहरूको आफ्नै किसिमको पीडा छ । काम गरुञ्जेल पेटभरी खान पाउँछन् नगर्दा भोकै रहने गर्छन् । न्यून ज्यालादरमा सन्तुष्ट हुने तिनीहरूको भविष्य अन्योलमा छ, कुनै सुविधाको सुनिश्चितता छैन । कोरोनाले स्वदेश फर्किसकेका नेपालीहरू देशमा केही विकल्प नदेखेपछि ज्यानको बाजी लगाएर पुनः बाहिरिने क्रम बढेको छ । 

हरेक मञ्चमा भाषणमा ताली बजाउनेदेखि लिएर आन्दोलनमा गोली र लाठी खाने मजदुर हुन्छन् तर आन्दोलनपछि रमाउने चाहिँ अरू कोही नै हुन्छन् । कामदार चाहिँ जहिले पनि जहीँको तहीँ छन् । चुनावताका रोजगारको नारा गुन्जिने गर्छ, युवाहरूलाई सुनौलो भविष्यको सपना देखाइन्छ । श्रमजीवी वर्गको नेतृत्व गर्दै १० वर्ष जनयुद्ध गरेको पार्टीको सरकार छ तर पनि स्वदेश तथा विदेशमा रहेका मजदुरको समस्या झन्झन् बल्झिएका छन् ।

इतिहासलाई हेर्दा सन् १८८६ मा अमेरिकाको सिकागोमा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा विराटनगरमा विसं २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउने गरेको पाइन्छ । 

यस दिन राज्यले सार्वजनिक बिदासमेत दिने गरेको छ भने देशव्यापी रूपमा श्रमिकहरूले भव्यताका साथ कायक्रम गरेर यो दिवस मनाउले चलन छ । तर, यसवर्ष १ सय ३०औं मजदुर दिवस विश्वकै समस्थ मजदुरका लागि फलदायी बनेन । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार विश्वका डेढ अर्बभन्दा धेरै मजदुरको रोजगारी जोखिममा पर्नेछ ।

अर्कातिर डब्लुएचओको निर्णयबमोजिम विश्वका धेरैजसो मुलुकहरू लकडाउन गरिँदा मजदुरहरू ६÷७ महिनादेखि बेरोजगार छन् भने कम्पनी, उद्योगधन्दा, व्यवसाय ठप्प भएकाले भोकमरी बढ्ने सम्भावना त्यतिकै देखिन गएको छ । फलस्वरूप विश्वका बेलायतलगायत धरैजसो मुलुकहरूमा श्रमिकहरूको आन्दोलन सुरु भइसक्यो । लकडाउनमात्र कोरोना नियन्त्रणको उपाय होइन भन्ने नाराका साथ श्रमिकहरू सडकमा उत्रिसकेका छन् । 

लाखौं युवाहरू नेपाल भित्रिएका छन् र लाखौं भित्रिने क्रममा छन् । ती युवाहरूको मनोबल विचलित बनेको छ । यस्तो परिस्थितिमा राज्यले के कस्तो रणनीति अपनाउनु पर्ला ! त्यसको व्यापक ढंगले विश्लेषण गर्नु जरुरी देखिन्छ । युवाहरू चुनाव र आन्दोलनमा होमिने शक्तिमात्र नभई देश मजबुतीका खम्बा हुन्, विकासका पूर्वाधार हुन्, राष्ट्रका सेवक हुन् । तसर्थ युवाहरूको देशभित्रै संरक्षण गर्न सक्नुपर्छ । तिनलाई सुविधा दिन र परिचालन गर्न सक्नुपर्छ । राज्यले बेरोजगारी समस्या हटाउन देशका विभिन्न भागमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । जसका कारण ती युवाहरूको भविष्य सुध्रिने र देशका लागि भरथेग हुन सक्नेछ ।