काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । निषेधाज्ञाको पहिलो दिन उपत्यका सुनसान रह्यो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मंगलबार बसेको बैठकको निर्णयअनुसार बुधबार राति १२ बजेबाट लागू हुनेगरी उपत्यकामा अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्नेगरी आदेश जारी भएको थियो । भदौ १० गतेसम्म हुने यो निषेधाज्ञाको पहिलो दिन उपत्यकाका सडक प्रायः सुनसान देखिए । सडकमा अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेनन् ।
सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका थिए भने निषेधाज्ञा उल्लंघन गरेर फाट्टफुट्ट यात्रा गर्नेहरूलाई पनि तैनाथ सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर होल्डिंग सेन्टरमा राखेका थिए । प्रहरीका अनुसार सडकमा निस्कनेलाई एक घण्टा नियन्त्रणमा राखेर घर पठाइएको छ । पहिलो दिन भएकाले चेतावनीस्वरुप एक घण्टा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महिना कैद वा पाँच सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । त्यस्तै सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले सडकमै होल्ड गरेका थिए । होल्ड गरिएका सवारी साधनलाई साँझ मात्रै छाडिएकोे महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिनुभयो ।
यसपालि चैत ११ पछि सञ्चालन भएको बन्दाबन्दीभन्दा कडा गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । ‘सिधासादा, जसलाई आदेशबारे थाहा छैन, उहाँहरूलाई सम्झाएर अब नआउने गरी छाडिएको छ, अलि बढी हुन खोज्नेलाई धेरै बेर होल्डिङ सेन्टरमा राखिएको छ, सम्झाउँदा पनि आदेश नमान्नेलाई भने कारबाही गरिन्छ’, एसएसपी ज्ञवालीले भन्नुभयो ।
यता, बिहीबार बिहान कार्यालय हिँडेका बैंकका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतलाई नै प्रहरीले रोकेपछि आक्रोशित बनेका बैंकहरूले काठमाडौं उपत्यकाका शाखा बन्द गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवकाले शुक्रबारबाट बैंकका कमर्चारीलाई परिचयपत्रका आधारमा छाडिने बताउनु भयो ‘प्राइभेट सवारीसाधनमा आउने सबैलाई चेक हुन्छ तर बैंकको परिचयपत्र देखाएपछि छाड्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै उपत्यका छिर्ने नाका र चोकचोकमा जाँच पनि कडाइ पारिएको छ । पास र अत्यावश्यकबाहेक जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनसमेत सञ्चालन नभएको प्रहरी कार्यालयले जनाएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।
अत्यावश्यक कामका लागि घरबाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ ।




















