‘होहो माले भन्ने मान्छे गायक भो बबाल’

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापा केही समयअघि आफ्नो बेसुरा गायकीका कारण चर्चामा रहनुभयो । आफ्नै गीतसंगीत क्षेत्रका सर्जकदेखि फ्यानहरूले उहाँलाई गालीगलौज गर्न थाले । एक टेलिभिजनको अन्तर्वार्तामा स्वरसम्राट नारायण गोपालको गीत गाउन भनिएकोमा भक्तराज आचार्यको गीत बेसुर तरिकाले गाइदिएपछि दुर्गेशमा भएको गायकीको क्षमतामाथि प्रश्न उठेका थिए । 

त्यस अन्तर्वार्तापछि दुर्गेशलाई सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा धेरैले फोन गरेर नकारात्मक प्रतिक्रिया जनाए । त्यसले दुर्गेश निराश बन्नुभयो । ठूलै चर्चाको विषय बन्दा पनि दुर्गेशले सामाजिक सञ्जाल तथा कुनै पनि मिडियामा आफ्नो प्रतिक्रिया जनाउनु भएन । 

अहिले आएर दुर्गेशले एक गीतमार्फत आफ्नो भनाई राख्नुभएको छ । साथै बेसुरा गायक भन्नेहरूका लागि दुर्गेशले गीतमार्फत नै जवाफ फर्काउनु भएको छ । गीतमार्फत आफ्नो परिवारमा कसैले पनि गीतसंगीत नसिकेको र आफू ‘हो हो माले’ भन्ने मान्छे आज चर्चित गायक भएको बताउनु भएको छ । 

‘न मेरी आमाले स्कुल देखेको

न मेरो बाबाले गीत लेखेको

कहाँबाट सिक्नु खै मैले सुरताल, नगर सवाल

होहो माले भन्ने मान्छे गायक भो बबाल’

माथि उल्लेखित शब्द दुर्गेशले सार्वजनिक गरेको गीतमा समावेश गरिएको छ । गीतमार्फत आफ्नो घरमा आमाबुबा कोही संगीतको क्षेत्रमा नभएको बताउनुभएको छ । पारिवारिक माहौल नहुँदा आफूले संगीत सिक्न नपाएको गीतको आशय छ । साथै ‘होहो माले भन्ने मान्छे गायक भो बबाल’को अर्थ हलो जोत्ने मान्छे आज चर्चित गायक भएको दुर्गेशको धारणा छ । 

‘न वनको कोइलीले सरगम जान्दछ

न कागले आफैंलाई कमजोर ठान्दछ । 

कहाँबाट सिक्नु खै मैले सुरताल, नगर सवाल

होहो माले भन्ने मान्छे गायक भो बबाल’ 

यस्तै गीतको दोस्रो हर्फमा बनको कोइलीले पनि सरगम नजान्ने र कागले आफूलाई कमजोर नठान्ने भनिएको छ । दुर्गेशले एक अन्तर्वार्तामा भएका केही गल्तीलाई लिएर धेरै ट्रोल बनाइएकोमा दुःख व्यक्त गर्नुभएको छ । ‘म मा सबै कुराको ज्ञान भएन त्यसमा क्षमा माग्छु । अन्तर्वार्ता दिनेदिन केही तनाबमा दिएँ’, दुर्गेशले भन्नुभएको छ, ‘मैले अझै पनि सिक्नेक्रममा छु । दर्शक तथा श्रोताको साथ मेरो लागि धेरै आवश्यक छ ।’ दुर्गेशले आगामी दिनमा गीतसंगीतमा अझै सिकेर अघि बढ्ने बताउनुभएको छ ।

गीतमा वसन्त थापाको लय तथा शब्द छ । गीतसंगीतको क्षेत्रमा आफ्नो राम्रो छायाँ बनाउनु भएको वसन्त र दुर्गेश नाताका दाजुभाइ हुनुहुन्छ । दुर्गेशले वसन्तलाई ‘गड फादर’को रूपमा हेर्ने गर्नुहुन्छ ।

बुलन्द भिडियो

गीतको भिडियो मेकिङमा निकै ध्यान दिइएको छ । शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश आफैंले नृत्य गर्नुभएको छ । दुर्गेशसँगै चल्तिका नायक पल शाह र पुष्प खड्काले पनि नृत्यमा साथ दिनुभएको छ । नेपाली म्युजिक भिडियो जगतका तीन चर्चित पात्र एकै भिडियोमा रहँदा भिडियोलाई धेरै दर्शकले हेर्नेमा दुर्गेश आशावादी देखिनुभएको छ । भिडियोमा कोरस नृत्यसँगै दुर्गेश, पल र पुष्पको दमदार नृत्य देख्न सकिन्छ । 

भिडियोमा दुर्गेशले गाउँमा गाईभैंसी चलाउँदा गीतसंगीतको मोह भएको देखाइएको छ । दुर्गेशलाई अभिनयमा सारिका केसीले साथ दिनुभएको छ । भिडियोमा कलर तथा सम्पादन मिलन विश्वकर्माको छ । अर्जुन तिवारीले खिचेको तीनदिन लगाएर खिचिएको हो ।