राधिका बुढाथोकी
सिन्धुली । सिन्धुलीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै १३ जना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहका अनुसार दुई दिनअघि १८८ जनाको स्वाब सङकलन गरी पिसिआर परिक्षण गर्न प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएको थियो । जसमध्यबाट १३ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक यतिधेरै संख्यामा कोरोना सङक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएका मध्ये विदेसबाट आएर कमलामाई नगरपालिका–६ माझिटारस्थित क्वारेन्टाईनमा बस्दै आएका २१ देखि ३६ बर्षभित्रका सात जना पुरुष छन् । ती मध्ये चार जना कमलामाई नगरपालिकाका र तीन जना तीनपाटन गाँउपालिकाका हुन् ।
बाँकी सङक्रमित मध्ये नेपाली सेनाको पर्याबरण गण रानीबास र सदरमुकामस्थित व्यारेकमा कार्यरत ३५ र ३६ बर्षका दुई जना नेपाली सेना छन् । त्यस्तै कमलामाई नगरपालिका–७ का १७ बर्षिय एक पुरुष र सिन्धुली अस्पतालमा कार्यरत एक जना कर्मचारी कमलामाई नगरपालिका–५ का ३५ बर्षिय महिलालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका प्रमुख साहले जानकारी दिनुभयो ।
त्यस्तै क्ट्याक ट्रेसिङ गरेका महोत्तरी निवासी दुई जना पुरुष कोरोना सङक्रमित रहेका र उनीहरु महोत्तरीमा नै फर्किएका उहाँले बताउनुभयो । यो सहित सिन्धुलीमा कोरोना सङक्रमितको संख्या ३३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङक्रमित महोत्तरीका दुई जना बिरामीको उपचार उतै हुने र बाँकी ११ जनालाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सिन्धुली अस्पतालमा चार जना कोरोना सङक्रमित छन्,आज नयाँ थपिएका ११ जना संक्रमितलाइ आइसोलेसन वेडको व्यवस्था गरिदै छ ।’
कोरोना सङक्रमितलाई उपचार गर्न सिन्धुली अस्पतालमा आईसोलेसन बेड आठ वटा मात्रै रहेको र बाँकी बेड राममाडीस्थित एपोलो हस्पिटलमा बनाउन सुरु गरिएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एपोलो हस्पिटलमा २५ बेडको आइसोलेसन बेड बनाउन सुरु भएको छ ।
एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सिन्धुली अस्पतालमा वेडको अभाव भएकाले आइसोलेसन वेडको व्यवस्था गर्नुपर्ने भएको हो ।
यसैविच तीनपाटन गाउँपालिका वडा नं. ९ का एक जेष्ठ नागरिकमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु¥याइएको छ । उहाँलाई कोरोना संक्रमण भएको हैन भन्दै झुक्याएर घरमा पु¥याएपछि स्थानीयहरु त्रसित बनेका छन् । गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले वडा नं. ९ रिठ्ठेका ७५ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकोमा अस्पतालले उपचार गर्न नमानेपछि परिवारले घरमा ल्याएको जानकारी आफुले आएको बताउनुभयो ।
काठमामडौंमा उपचारको लागि जानुभएका जेष्ठ नागरिक पुरुषमा टेकु अस्पतालबाट पिसिआर जाँच गर्दा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
गाउँपालिका प्रमुख थापामगरले पालिका प्रतिनिधि सहित स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई यसका बारेमा जानकारी लिन घरमै पठाईएको बताउनुभयो । यता गाउँमा कोरोना संक्रमितलाई ल्याइएको भन्दै स्थानीय त्रसित भएका छन् । स्थानीयले गाउँमा कोरोनाको संक्रमण फैलने भन्दै सम्बन्धित निकायलाई संक्रमितको सुरक्षित तवरले उपचार गर्न आग्रह गरेका छन् ।
विशेष स्रोतका अनुसार विहिवार साँझ सात बजे काठमामडौंबाट ट्याक्सि रिर्जभ गरेर कोरोना संक्रमित पुरुष काठमाडौँको टेकु अस्पतालबाट तिनपाटन स्थित घरमा आएका हुन् ।




















