प्रा.गंगाप्रसाद उप्रेतीको दुई कविता संग्रह विमोचित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.गंगाप्रसाद उप्रेतीले संक्षिप्त र अनौपचारिक कार्यक्रममा कवि वैकुण्ठराज आचार्यको कृति ‘फेरी’ र भगवती पौडेलको कृति ‘अक्षरका बीऊहरू’ को लोकार्पण गर्नुभयो । दुवै कृति कविता संग्रह हुन् । अमेरिकाको टेक्सस् राज्यस्थित डालसमा बस्तै आउनुभएका आचार्य र पौडेल साहित्य सन्ध्यामा आबद्ध हुनुहुन्छ । 

पौडेलको कृति पहिलो हो भने आचार्यको यसअघि मातृभूमिको न्यास्रो कविता संग्रह प्रकाशित भइसकेको छ । कार्यक्रमा मन्तव्य प्रकट गर्दै कुलपति प्रा.उप्रेतीले नेपाली साहित्य भण्डारमा यस्ता कृतिले योगदान गर्ने विचार व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासमा विदेशमा रहेका नेपालीहरूसँग सहकार्य गर्ने स्पष्ट गर्नुभयो । 

प्रज्ञा प्रतिष्ठानको कक्षमा सामाजिक दूरी कायम गरी आयोजित कायक्रममा वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका सम्पादक पुरुषोत्तम दाहालले विदेशमा रहेका नेपालीहरूले साहित्य सिर्जना र सांस्कृतिक संस्थाहरूको स्थापना गरी परिचयलाई जीवन्त राख्नसक्ने विचार प्रकट गर्नुभएको थियो । उपलब्धि साहित्यिक पत्रिकाका सम्पादक रोशन थापाले कसहजीकरण गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय, सदस्य प्राडा. हेमराज पौडेल, डा.देवी नेपालहरूको सहभागिता रहेको थियो ।