श्रीलंकाको नवनियुक्त प्रधानमन्त्री राजापाक्षबाट शपथ ग्रहण

साउन । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । शपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको उपस्थिति थियो । राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद् यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ । 

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रूपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजुद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगष्ट २० मा सुरु हुनेछ । श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुग्नु भएको छ ।