नेपालसँग आत्मीय सम्बन्ध जोडियो : नरेन्द्र मोदी

काठमाडौं । भगवान् रामको जन्मभूमि मानिएको भारतको उत्तर प्रदेश राज्यको अध्योध्यामा श्रीराम मन्दिर निर्माणका लागि भूमि पूजा गर्दै शिलान्यास गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा श्रीराम मन्दिरको निर्माणका लागि भूमि पूजा गर्दै चाँदीले निर्मित पाँचवटा इँटा दिउँसो बुधबार १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गर्नुभएको छ । उत्तर प्रदेश राज्यमा सरयु नदीको किनारमा रहेको बहुप्रतिक्षित श्रीराम मन्दिर निर्माणका लागि भारतीय प्रधानमन्त्री मोदीले भूमि पूजन गर्नुभएको हो ।

मन्दिरको भूमिपूजन कार्यक्रममा नेपालबाट श्रीजानकी मन्दिरका महन्थ सहभागी हुनुभएको थियो । अध्योध्याबाट जनकपुरधामस्थित श्रीजानकी मन्दिरका महन्थ राम तपेश्वर दासलाई निमन्त्रणा आएपछि मंगलाबार उहाँ चाँदीको इँटा र जनकपुरको माटोसहित राजा जनकको प्रतिनिधित्व गर्दै अयोध्या प्रस्थान गर्नुभएको थियो । विश्व हिन्दू परिषद्ले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमि पूजनमा सहभागी हुन आमन्त्रण गरेको थियो । 

जनकपुरको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्मान गर्न सम्मानपत्रसमेत महन्थ दासले लानुभएको थियो । श्रीराम मन्दिर निर्माणका लागि गरिने भूमि पूजन कार्यक्रममा आमन्त्रित १७५ प्रतिष्ठित पाहुनामध्ये नेपालबाट सहभागीमध्ये महन्थ दास पनि हुनुहुन्छ ।

श्रीराम मन्दिरको भूमि पूजन कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले पौराणिक पात्र भगवान् रामसँग नेपाल र भारतको आत्मीय सम्बन्ध जोडिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘श्रीलंकामा रामायणको कथा जानकी हरणको नामले सुनिने गरेको छ । नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ ।’ मोदीले विश्वका कैयौं देशको आस्थामा कुनै न कुनै रूपमा भगवान् राम बसेको जिकिर गन्र्नुभयो । उहाँ भन्नुहुन्छ, ‘दुनियाँका कैयौं देश छन् जहाँको आस्थामा या अतितमा राम कुनै न कुनै रूपमा रचेर बस्नुभएको छ ।’ 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भन्नुयो, ‘५०० वर्ष लामो र कडा संघर्ष लोकतान्त्रिक र संविधानसम्मत तरिकाले सम्पन्न भएको छ ।’

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेललगायतको उपस्थिति थियो । भूमि पूजा गर्नुअघि मोदीले हनुमानगढीमा पूजा तथा आरती गर्नुभएको थियो । मोदीले रामललाको दर्शन गर्दै साष्टांग दण्डवत गर्नुभएको थियो । 

भारतको अयोध्या स्थित निर्माण हुने भगवान श्रीरामको मन्दिरको भूमिपूजनको अवसरमा जनकपुरमा समेत खुसियाली मनाइएको छ । श्रीराम जन्मभूमि मन्दिर भूमि पूजनको अवसरमा जनकपुरमा जानकी मन्दिरले बुधबार बिहानदेखि भजन कीर्तनसहित मन्दिरमा पूजापाठ आयोजना गरेको छ । साँझ जनकपुरसहित मिथिला क्षेत्रमा दीपावली मनाइएको छ । 

अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउने नारा बोकेर सत्तामा पुगेको भारतीय जनता पार्टी (भाजपा)ले अन्ततः मोदीको दोस्रो कार्यकालमा राम मन्दिर बनाउन लागेको हो । भगवान् रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो । दशकौंसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको केही समयअघि दाबी गर्नुभएको थियो । 

भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँले बताउनुभएको थियो । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टिको गाउँ हो ।’ ‘अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ त्यहाँ’ प्रधानमन्त्री ओलीले भन्नुभएको थियो । अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उहाँले भन्नुभएको थियोे, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’