रातो सारी लरक्कै

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरूको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रूपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरू आइरहेको छन् । यसैबीच सञ्चारकर्मी सरिता भारतीको स्वरमा रहेको रातो सारी लरक्कै बोलको गीत सार्वजनिक गरिएको छ । 

आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभूषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसंशा गर्ने प्रसंगमा आधारित रहेको गायिका सरिता भारतीले बताउनुभयो । गीत अग्रज पत्रकार शान्तिप्रियद्वारा लेखिएको हो । शान्तिप्रियको यसै महिनाभित्र अझै तीनवटा तीजगीत रिलिज हुने भएको छ । गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

विलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामूलक मुख्य भूमिका छ । भिडियोलाई अग्रज छायांकार तथा निर्देशक राजु केसीले छायांकन गर्नुभएको हो । भिडियोमा राहुल श्रेष्ठ छवि थापामगरको कोरियोग्राफी, वीरेन्द्र भाट ‘बिपिन’को छायांकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०की विजेता लिना डंगोल र लक्ष्मी महर्जनको शृंगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गर्नुभएको हो । 

गायिका सरिताको रेकर्डिङको हिसाबले यो छैटौं गीत हो । यसअघि चारवटा गीत उनले बजारमा ल्याइसक्नु भएकी सरिताले आगामी महिनामा अन्य दुई गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताउनु भएको छ ।