पोखरा । महिलाहरूको महान् चाड हरितालिका तीज आउँदै गर्दा लकडाउनले थिचोमिचो पारेको लोकसंगीत क्षेत्र फेरि जुर्मुराउन लागेको छ । तीज आउँदै गर्दा दर्जनांै कलाकारले आफ्ना कोशेलीहरू बोकेर आउनु भएको छ ।
बजारमा कोई सर्जकहरूले राम्रा गीतहरू ल्याउनु भएको छ भने केही भने उत्तौला पाराका गीत लिएर बजारमा आउनु भएको छ । पछिल्लो समय गीतसंगीतलाई राम्रोसँग नबुझेका तर व्यावसायिक मुनाफाका लागि आएका गीतहरूले लोकसंगीतलाई नै असर गरिरहेको भान हुन्छ । सीमित सर्जकहरूले मात्र समाजका आवाजलाई उठान गर्न र नेपाली लोकसंगीतलाई जीवन्त राख्न भूमिका खेलेको पाइन्छ ।
पछिल्लो समय बजारमा सकारात्मक चर्चा चलेका गायकहरूको सूचीमा राम्जी पौडेल पनि पर्नुहुन्छ । हालै उहाँको तीज गीत ‘नकचरो पोइ’ सार्वजनिक गरिएको छ । झ्याप्प सुन्दा गीतको शीर्षक अपाच्य जस्तो लागे पनि गीतले भने राम्रो सन्देश दिन खोजेको छ । पोइ भन्ने शब्द नेपाली ठेट शब्द हो । गीतभित्र खासगरी दाम्पत्य जीवनमा हुने उत्तारचढाबलाई उठान गरिएको छ । गल्तीहरूलाई महसुस गराउन खोजिएको छ । पौडेलको आफ्नै लय तथा स्वर रहेको उक्त गीतमा माया गुरुङको स्वर सुन्न सकिन्छ ।
पोखरा महानगरपालिका २३ हर्पनमा जन्मिनु भएका राम्जी पौडेललाई विगत लामो समयदेखि स्थापित गायकको रूपमा हेरिन्छ । पौडेलले हालसम्म ६० वटाभन्दा बढी गीतहरूमा स्वर दिइसक्नु भएको छ । सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्नु भएका पौडेललाई बालापनमै पितृशोक प¥यो । दाजुहरू र आमाको काखमा हुर्किनु भएका पौडेलले सानै उमेरदेखि कष्टकर जीवन भोग्नुपरेको थियो ।
जीवन को भोगाइ र गाउँले जीवनलाई राम्रोसँग बुझ्नु भएका पौडेलले मौलिक गीतहरूलाई प्राथमिकता दिनुहुन्छ । स्वरले सजिएका पौडेलले सानै उमेरमा विभिन्न गीत प्रतियोगितामा भाग लिनुहुन्थ्यो । पढाइमा अब्बल दर्जामा गनिने पौडेल गायन गीतसंगीतमा पनि सानैदेखि उत्कृष्ट हुनुहुन्थ्यो । प्रवेशिका परीक्षा सकेपछि जीविकोपार्जनका लागि विदेश जाने मनाशाय बनाउनु भएको थियो ।
२०६५ सालतिर एक रेडियोले गायन प्रतियोगिता राखेको थियो जसमा लोक गायक प्रजापति पराजुली निर्णायक हुनुहुन्थ्यो । उक्त प्रतियोगीतामा प्रथम भएपछि प्रजापति पराजुलीको नजर पौडेलमा प¥यो । पराजुलीकै सहयोगले पौडेल दोहोरी साझतिर काम गर्न सुरु गर्नुभयो । दोहोरी साझबाट थोरै भए पनि आम्दानी हुन थालेपछि ११–१२ कक्षाको अध्यायनसँगै घर खर्च टर्न थाल्यो ।
झन्नै विदेश गइसक्नु भएका पौडेलको भेट गायक चोलेन्द्र पौडेलसँग हुन पुग्यो । त्यो समय चोलेन्द्र पौडेल पनि स्थापित कलाकार हुनुहुन्थ्यो । २०६८ साल मा चोलेन्द्र कै सहयोगमा पहिलोपटक पौडेलले ‘सुन मेरी काली’ गीत रेकर्ड गराउनुभयो । ‘सुनमेरी काली’ लाई स्रोताहरूले राम्रो मानेपछि पौडेलले आमा गीत रेकर्ड गराउनुभयो । आफ्नै आमाको दुःखकष्ट र भोगायीलाई सम्झिएर गाउँदा ‘आमा’ गीत जीवन्त हुन पुग्यो । ‘आमा’ गीतको सफलतापछि पौडेलको झन् धेरै चर्चा हुन पुग्यो ।
पौडेलका ‘निउ न खोज सानी’, ‘भन्न नसकेर’, ‘हेराउन जाउ हिन’, ‘बाबाजीको आगनी भत्किए छ बाइ’, ‘कोदो गोड्न जाउ’, ‘दिदी भाइ’लगायत बोल भएका गीतहरूले समय समयमा नेपाली लोकसंगीतको बजार तताइरहेका थिए । खासगरी मौलिक गीतहरूलाई प्राथमिकता दिने पौडेल अहिलेसम्म कुनै पनि विषयमा आलोचित हुनुभएको छैन । आफूलाई स्वच्छ छविको रूपमा स्थापित गराउनुभएका पौडेलले गीतसंगीतलाई आफ्नो पेशामात्र होइन प्रतिष्ठाको रूपमा हेरिरहनु भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘मैले गायनलाई पेशागत हिसाबले होइन एउटा प्रतिष्ठाको रूपमा हेरेको छु, यो आफैंमा इज्जतिलो पेशा हो’ केही पात्रहरूले पछिल्लो समय लोकसंगीतलाई धमिल्याउन खोजेको पौडेलले गुनासो गर्नुभयो । सर्जकहरू लोकसंगीतको महŒवबारे बेलैमा चिन्तन नहुने हो भने लोकसंगीत नै लोपोन्मुख अवस्थामा पुग्नसक्ने पौडेल बताउनु हुन्छ ।
दर्शक÷श्रोताहरूले पनि मौलिक गीतलाई प्रथामिकता नदिई भड्किला गीतलाई प्राथमिकता दिँदा असल सर्जकले पनि फरक शैली अवलम्बन गर्न बाध्य पर्ने पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।


















