नेपालीहरु तत्काल कुवेत रोजगारीमा जान नपाउने।

काठमाडौं। कोरोनामा महामारीका कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत रोजगारीमा जान नपाउने भएका छन्।

कुवेतले आगामी अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान शुरु गर्दैछ। उसले नेपाल,भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान , ईरान र फिलीपींस मुलुकका मानिसहरुले कुवेत जान नपाउने बताएको छ। यस्तो प्रतिबन्ध कहिलेसम्म हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन।

तर, यी सातवटा मुलुक बाहेकका नागरिक भने कुवेत प्रवेश गर्न पाउनेछ्न। यता कुवेतले नेपालीहरुमाथि प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा नकरात्मक असर पर्ने देखिएको छ। कोरोना महामारी शुरु हुनुभन्दा अगाडि कुवेत नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मध्यको एक गन्तव्य थियो। तर कोरोना महामारी शुरु भएसँगै वैदेशिक रोजगारीमाथि संकट आएको छ , धेरैजसो देशमा आर्थिक मन्दी समेत छाएको छ।