क्वालालम्पुर:= मलेसियाको श्रम बजारमा स्थानीय श्रमिकहरू एउटै कम्पनीमा लामो समयसम्म काम नगरी बारम्बार जागिर परिवर्तन गर्ने (Job-Hopping) प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। श्रम बजारमा बेरोजगारी दर न्यून हुनु, नयाँ कम्पनीहरूको विस्तार, आकर्षक तलबको प्रतिस्पर्धा तथा कम्पनीभित्र करियर विकासको अभावका कारण कर्मचारी फेरबदल (Employee Turnover) अहिले रोजगारदाताहरूका लागि ठूलो चुनौती बनेको छ।
सनवे युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक डा. येह किम लेङका अनुसार, मलेसियाको हालको श्रम बजार अत्यन्तै प्रतिस्पर्धी अवस्थामा पुगेको छ। विशेषगरी इलेक्ट्रोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (AI), अटोमेसन, साइबर सुरक्षा तथा डिजिटल सेवा जस्ता तीव्र रूपमा विस्तार भइरहेका क्षेत्रमा नयाँ कम्पनीहरू थपिँदै जाँदा दक्ष जनशक्तिको माग असाधारण रूपमा बढेको छ।
उनका अनुसार यी कम्पनीहरूले अनुभवी तथा दक्ष कर्मचारीलाई आकर्षित गर्न उच्च तलब, आकर्षक सुविधा र राम्रो करियर अवसर प्रदान गरिरहेका छन्। यही कारणले धेरै स्थानीय श्रमिकहरू राम्रो अवसरको खोजीमा छोटो-छोटो अन्तरालमै कम्पनी परिवर्तन गरिरहेका छन्।
तर, जागिर परिवर्तनको कारण केवल बढी तलबको लोभ मात्र नभएको आर्थिक विश्लेषकहरूले बताएका छन्।
पुत्रा बिजनेस स्कूलकी आर्थिक विश्लेषक डा. इदा यासिनका अनुसार धेरै मलेसियाली कम्पनीहरूमा कर्मचारीको करियर विकासका लागि स्पष्ट योजना नै हुँदैन। धेरै कर्मचारीले पाँचदेखि दस वर्षसम्म एउटै पदमा काम गर्नुपर्ने अवस्था रहने भएकाले उनीहरू नयाँ अवसरको खोजीमा कम्पनी छोड्न बाध्य हुन्छन्।
उनले भनिन्, “धेरै कर्मचारीको अनुभव के छ भने कम्पनी परिवर्तन नगरेसम्म पदोन्नति नै हुँदैन। धेरै संस्थामा मानव संसाधन (HR) विभागसँग कर्मचारीको सीप विकास वा करियर उन्नतिको दीर्घकालीन रणनीति नै छैन।”
डा. यासिनले अर्को गम्भीर समस्या ‘अन्डरएम्प्लोयमेन्ट’ (Underemployment) लाई पनि औंल्याएकी छन्। उनका अनुसार केही रोजगारदाताले श्रम लागत घटाउने उद्देश्यले इन्जिनियरिङ स्नातकजस्ता उच्च शिक्षित युवालाई समेत न्यून तलबमा तल्लो तहको प्राविधिक काममा नियुक्त गर्ने गरेका छन्। यसले योग्य युवामा असन्तुष्टि बढ्दै गएको र उनीहरू राम्रो अवसरको खोजीमा बारम्बार जागिर परिवर्तन गर्न बाध्य हुने अवस्था सिर्जना गरेको छ।
विश्लेषकहरूका अनुसार यदि यो प्रवृत्ति निरन्तर बढिरह्यो भने कम्पनीहरूको उत्पादनशीलता, दक्ष जनशक्ति व्यवस्थापन तथा दीर्घकालीन व्यावसायिक स्थायित्वमा नकारात्मक असर पर्न सक्छ।
उनीहरूको सुझाव अनुसार अब रोजगारदाताहरूले नयाँ कर्मचारी भर्तीमा मात्र ध्यान दिनु पर्याप्त हुँदैन। व्यावसायिक तालिम, पुनःसीप विकास (Reskilling), नियमित तलब वृद्धि, स्पष्ट पदोन्नति प्रणाली, कर्मचारीमैत्री कार्यसंस्कृति तथा दीर्घकालीन करियर योजना लागू गर्न सके मात्र अनुभवी कर्मचारीलाई कम्पनीमै टिकाइ राख्न सकिनेछ।
श्रम बजारका विज्ञहरूका अनुसार प्रतिभाशाली जनशक्तिलाई टिकाइराख्न सक्ने कम्पनीहरूले मात्र भविष्यको प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान मजबुत बनाउन सफल हुनेछन्।




















