केलान्तानमा अध्यागमनको ‘अप्स मेगा’ छापा: २० विदेशी विभिन्न अध्यागमन कसुरमा पक्राउ।

कोटा भारु (केलान्तान):= मलेसियाको केलान्तान राज्यस्थित कोटा भारु सहरमा शुक्रबार बिहान संयुक्त रूपमा सञ्चालन गरिएको ‘अप्स मेगा’ (Ops Mega) कारबाहीमा विभिन्न देशका ३६२ जना विदेशी नागरिकमाथि जाँच गरिएको छ। उनीहरू सप्ताहन्तको किनमेल तथा घुमफिरका लागि सहरमा पुगेका बेला अध्यागमन अधिकारीहरूले व्यापक अनुगमन गरेका हुन्।

यो संयुक्त अपरेशन मलेसियाको अध्यागमन विभाग (JIM), घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालय (KPDN)कोटा भारु नगर परिषद् (MPKB-BRI) ले बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालन गरेका थिए। कारबाही कोटा भारुका ११ वटा ‘हटस्पट’ क्षेत्रमा केन्द्रित थियो।

जाँचका क्रममा नेपाल, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया, म्यानमार तथा रोहिङ्ग्या समुदाय का नागरिकहरूलाई जाँच गरिएको थियो।

केलान्तान अध्यागमन विभागका निर्देशक ग्यारी बेलायोङ आनाक जोन सिकी का अनुसार २ देखि ६० वर्ष उमेर समूहका २० जना विदेशी नागरिक अध्यागमन ऐन १९५९/६३ अन्तर्गत विभिन्न कसुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ जना महिला र बाँकी पुरुष रहेका छन्।

उनका अनुसार पक्राउ परेकामध्ये केहीले जाँचका क्रममा वैध यात्रा वा बसोबाससम्बन्धी कागजात प्रस्तुत गर्न नसकेको पाइएको छ भने केही भिसाको अवधि समाप्त भएपछि पनि मलेसियामा अवैध रूपमा बसिरहेको (Overstay) आशंकामा पक्राउ परेका हुन्।

त्यसैगरी, KPDN ले सञ्चालन गरेको समानान्तर कारबाहीमा मूल्य नियन्त्रण तथा आपूर्ति नियन्त्रणसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा ३ वटा छुट्टै मुद्दा पनि दर्ता गरिएको छ।

अध्यागमन विभागका अनुसार जाँचका क्रममा भेटिएका अधिकांश रोहिङ्ग्या समुदायका व्यक्तिसँग UNHCR (संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालय) को परिचयपत्र रहेको पाइयो भने अन्य धेरै विदेशी नागरिकसँग वैध रोजगार अनुमति (Work Pass) रहेको पनि पुष्टि भएको छ।

अधिकारीहरूले यस्ता संयुक्त अनुगमन आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाउँदै सबै विदेशी नागरिकलाई वैध कागजात साथमा राख्न र अध्यागमन कानुनको पूर्ण पालना गर्न आग्रह गरेका छन्।