मलेसियामा बेरोजगार ५२ हजारभन्दा बढी कामदारले बेरोजगारी भत्ताका लागि दिए आवेदन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सामाजिक सुरक्षा संगठन (PERKESO) का अनुसार सन् २०२६ जुलाई १६ सम्म ५२,६०७ जना मलेसियाली कामदारले बेरोजगारी भत्ता (EIS) का लागि आवेदन दिएका छन्। बढ्दो रोजगारी कटौतीका कारण हजारौं कामदार बेरोजगार बनेपछि श्रम बजारमा आर्थिक दबाब बढ्दै गएको देखिएको छ।

मानव संशाधन मन्त्रालयका अनुसार व्यवसाय बन्द हुनु, कम्पनीहरूको पुनर्संरचना र सञ्चालन खर्च घटाउने निर्णयका कारण कर्मचारी कटौती बढेको हो। यसपटकको रोजगारी कटौती केवल कारखाना वा उत्पादन क्षेत्रमा मात्र सीमित छैन। म्यान्युफ्याक्चरिङ (Manufacturing), सेवा (Services), सूचना प्रविधि (IT), वित्तीय सेवा, प्रशासनिक तथा व्यावसायिक सेवा लगायतका क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ।

विशेष चिन्ताको विषय भनेको यस पटक उच्च दक्षता भएका सेतो-पोश (White-Collar) कर्मचारीहरू समेत ठूलो संख्यामा प्रभावित हुनु हो। व्यवस्थापक, इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, लेखा तथा प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीले समेत रोजगारी गुमाउन थालेका छन्।

रोजगारी कटौती सबैभन्दा बढी क्लाङ भ्याली (Klang Valley) क्षेत्रमा देखिएको छ, जसमा क्वालालम्पुर र सेलाङ्गोर समावेश छन्। यी क्षेत्रहरू देशका प्रमुख औद्योगिक, व्यापारिक तथा सेवा केन्द्र भएकाले यहाँ भएका कर्मचारी कटौतीले राष्ट्रिय श्रम बजारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

यद्यपि अर्थशास्त्रीहरूका अनुसार देशको बेरोजगारी दर अझै करिब ३ प्रतिशत वरिपरि स्थिर रहेकाले नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना भइरहेका छन्। तर, यदि कर्मचारी कटौतीको यही गति कायम रह्यो भने सन् २०२६ कोभिड–१९ महामारीपछिकै सबैभन्दा कठिन वर्ष बन्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।