सुन्न चाहन्छौ ? के छ म सङ” !!

एकदिन कसैले यस्तो प्रश्न गर्यो ।
के छ तिमी सङ ?
तिमी सङ केही छैन ,
तिमी सङ काम छैन,
दाम छैन, नाम छैन ,
तेसैले यहाँ घोटिन आएका छौ ।
तिमी मेरो गुलाम हौ , म तिम्रो मालिक ।
भन तिमी र तिम्रो देशमा के छ ?

मलाई चिच्याएर भन्न मन लाग्छ ।
म को हुँ अनि म सङ के छ भनेर,
म एक बहादुर गोर्खाली हुँ,
त्यो बहादुरी मेरो नसामा सधैँ हुनेछ ।
जस्ले आफ्नो स्वाभिमान कहिले झुकाईन,
गिद्धे आँखा भएका शत्रुमाथि निशाना चुकाइन ,
हो आज बाध्यतामा छु ,
फेरिपनि भीख हैन परिश्रम गरेर खान्छु ।

अरु सुन्न चाहन्छौ ? के छ म सङ,
सन्सारकै अग्लो हिमाल छ
विशाल पहाड ,
उर्वर तराई ,
त्यही हिमाल पग्लिएर बग्ने स्वतन्त्र खोला नाला झर्ना,
जडिबुटी सङै, धेरै थोक छ ।
त्यसको एक झिल्को म सङ जीवितै छ ।
तिम्रा विकासे लहरको सुरुवाती शास्त्र,
दर्शन सबै छ ।

हो ! स्विकार्छु केही मनहरु मोडिएका छन ।
फसेका छन स्वार्थको दलदलमा,
वा कसैको इसारामा,
देश परिवर्तन गर्न काँधमा बन्दुक,
निधारमा कफन बाँधेर हिँडेका युवा,
शून्य परिणाम पश्चात् बिरक्‍तिएर,
आज चर्को घाम अनि हातमा गैँती र बेल्चा छ ।
निधारको पसिना सोस्ने टालो उस्तै लाग्छ ।
मलाइ थाहा छ, परिणाम यो पनि शून्य नै रहने छ ।

त्यसैले अब चिन्तन गर्नु पर्नेछ ।
यो स्वार्थी , अल्छीपना त्यागेर,
जगाउनुछ आफैलाइ भित्रैदेखी,
जो सङालेर राख्न सकियोस् ,
भावी सन्ततिका लागि उचित मार्ग,
एक झिल्को बहादुरीताको ।
एक टुक्रा एमान्दारिताको ।
एक थोपा राष्ट्रीय भावको ।
एक सुरुवात समृद्धिको ।

काँधमा जिम्मेवारी बोकेर,
आफ्नै माटोमा पसिना बगाउन,
म फर्किनु पर्छ स्वदेश,
मस्तिष्कलाई चेतायर ,
अब हातमा बन्दुक हैन सीप भरेर ।
———–

रेशम राज बोगटी क्षेत्री(रश्म)
दोधाराचाँदनी,सुदुरपश्चिम (कञ्चनपुर)
(मलेशिया पेनाङ)