सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार प्रजा चेपाङको परिवारलाई एक लाख दिने।

चितवन := खोलामा घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मारिएका राजकुमार प्रजा ( चेपाङ ) को परिवारलाई १ लाख रुपैयाँ राहत दिन सहमति भएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलपछि उनको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको दुई पक्षीय सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो ।

[ सेनाको कुटपिटबाट मृत्यु भएका युवा राजकुमार प्रजा ( चेपाङ ) ]

घर निकुञ्जले बनादिने :

त्यस्तै, बालबालिकाको भरणपोषणका लागि निकुञ्जले सहयोग गर्ने भएको छ । उनीहरूको घर पनि निकुञ्जले नै बनाउने सहमति भएको प्रजिअ भट्टराईले बताए।

स्थानीय बासिन्दासँगै १ साउनमा घुँगी खोज्न गएका राजकुमारलाई निकुञ्जको लिगलिगे पोस्टको सैनिक टोलीले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनको ८ साउनमा मृत्यु भएको थियो।

कुटपिट गर्ने सैनिकलाई कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका थिए । उनीहरूले शव बुझ्न पनि मानेका थिएनन् । सहमतिपछि आइतबार शवको पोस्टमार्टम गरिने भएको छ।