कास्कीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परी एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८ स्थित खोराकोमुखको पाखामा शुक्रवार बिहान स्थानीय प्रेमराज बिकको घरको केही अंश पहिरोले पुरिदा उनिहरुको मृत्युु भएको हो ।

अविरल बर्षाका कारण आएको पहिरोले बिकका दुई जना नाति र एक  नातिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । हमालकाअनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको हो ।

उक्त घरमा ६ जना रहनुभएको थियो । मृतकका हजुरबुबा प्रेमराज तथा हजुरआमा भने सकुशल रहनुभएको छ भने अर्का एकजना घरका नातेदार पर्ने ब्यक्ति पनि सकुसल नै रहेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

मृतकको परिवारका अनुसार तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए । घरभन्दा २०० मिटर माथिबाट झरेको पहिरोले ढुंगा माटोले बनेको कच्ची घर भएका कारण घरको तीन वटा कोठा बगाएको थियो । प्रेमराज बिककि नातिनी मृतक रोजिना बिक लकडाउन अवधिमा स्कुल छुट्टी भएका कारण मामाघर बस्दै आउनुभएको थियो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख जीवनराम श्रेष्ठको टोलिले घटनास्थल पुगी अनुगमन गर्नुभएको छ । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालिएको थियो । निरन्तरको बर्षाका कारण असार यता गएको पहिरोले कास्कीमा मात्र १० जनाको मृत्यु भैसकेको छ ।