काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, टोखा, वाँनियाटार, टिचिङअस्पताल, कोटेश्वर, गौरीधारा, कुमारीपाटी, गोकर्णलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी मंगलबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले सम्बन्धित धनिलाई जिम्मा लगाउनुभएको हो ।
उहाँले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिनुभयो । उहाँले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिनुभयो ।
महाशाखाले यस आर्थिक बर्ष ०७६÷०७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ । जसमा ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।




















