भूकम्पले क्षतिग्रस्त धरहराको १० औँ तलाको ढलान सम्पन्न

काठमाडौं । भूकम्पले क्षतिग्रस्त धरहराको १० औँ तलासम्मको ढलानको काम पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले धरहराको ४० प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो । 

धरहरा पुननिर्माणको काम लकडाउनका कारण केही समय प्रभावित भएपनि अहिले निरन्तर अगाडि बढेको ज्ञवालीले बताउनुभयो । कार्यकारी अधिकृत ज्ञवालीले तीन तल्ले पार्किङ स्थलतर्फको काम जारी रहेको जानकारी दिनुभयो । 

उहाँले निर्माण स्थलभित्र रहेका गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी संचय कोष स्थानान्तरण गरी संचयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको बताउनुभयो । हप्ता दिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै बैठकमा ज्ञवालीले सिंहदरबार पुनर्निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएकोसमेत जानकारी दिनुभयो ।