असार २८ गतेपछि विदेशबाट चार्टर्ड उद्धार उडान नहुने।

काठमाडौँ:= कोरोना भाइरस माहामारीको कारण विभिन्‍न अन्तर्राष्ट्रिय मुलुकमा अलपत्र परेका नेपालीलाई चार्टर्ड उद्दार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि अनिश्चितकालको लागी स्थगित हुने भएको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा ४ पटक उद्धार उडानको तालिकाको समय थपिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले बताएअनुसार कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने बताए । ‘तर, औषधिजन्य कार्गो उडानलाई भने अनुमती दिइने छ। ‘समिक्षा सकिएपछि फेरि उद्धार उडान गर्नुपर्ने आवश्यकता भए सरकारले पुनः निर्णय गर्नेछ ।’

पछिल्लोपटक उद्धार उडानमा संलग्‍न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारीमा कोरोना भाइरस ( कोभिड-19) को संक्रमण देखिएपछि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको हो । त्यस्तै विदेशबाट नेपाल फर्केकाहरुमा पनि संक्रमण पुनः देखा परेपछि उद्धार उडान तत्काल रोक्दै समिक्षा गर्न खोजिएको स्रोतको भनाइरहेको छ। आइतबार हुने अन्तिम उडानमा नेपाल वायुसेवा निगमले एउटा उडान नारिता र अर्को दुबईबाट काठमाडौं फर्किने तालिका छ भने हिमालयले मलेसियाको क्‍वालालम्पुरका लागि एउटा उडान राखेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका अनुसार बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट आफ्नै खर्चमा र रोजगारदाता कम्पनीको खर्चमा चार्टर्ड विमानको टिकट किनेर २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका छन् ।
जसमा कुवेतबाट ४ हजार ७ सय, यूएईबाट ४ हजार १ सय, साउदी अरेबियाबाट ३ हजार २ सय, कतारबाट २ हजार ७ सय, मेलेसियाबाट २ हजार ४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको सम्बन्धित निकायले बताएका छ्न। विदेशबाट सबैभन्दा बढी वाग्मती प्रदेशका ६ हजार ६ सय आए भने सबैभन्दा कम कर्णाली प्रदेशका ४ सय ८८ थिए । यो अवधिमा २२ वटा मुलुकबाट नेपाली ल्याइए ।