कोरोनामा सुधार आएको राष्ट्रपति ट्रम्पको दावी

न्युर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरूद्ध मुलुकले प्रगती गरिरहेको दावी गर्नुभएको छ । महामारी व्यवस्थापनमा ट्रम्पको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले आफ्नो सरकारले कोरोना काबुमा राख्न सक्षम भएको र पहिलेको तुलनामा कोरोना भाइरस धेरै नियन्त्रणमा आईसकेको बताउनुभयो । 

उहाँले भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्ण रूपमा जिम्मेवार बताउनुपर्नेमा जोड दिनुभयो । अमेरिकालाई गाली गर्नेभन्दा पनि विश्वव्यापी रुपमा चीनले यो भाइरस फैलाएको उहाँको आरोप थियो । भाइरस देखिनासाथ चीनले चाहेको भए रोक्न सक्नेमा संक्रमितहरुलाई खुला छाड्दा विश्वले महामारीको सामना गर्नुपरेको भनाइ उहाँको थियो । 

हालै रंगभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गर्नुभयो । उहाँले उग्र वामपन्थी, माक्सवादी, आन्दोलनकारी र लुटेराहरूलाई परास्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो ।

अमेरिकामा कोरोना भाइरसका कारण यस वर्षको स्वतन्त्रता दिवसका धेरैजसो कार्यक्रम रद्द गरिए । ट्रम्पले साथमा श्रीमती मेलानिया राखेर ह्वाइटहाउसको बगैँचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीको भिडलाई सम्बोधन गर्नुभएको थियो ।

उहाँले अमेरिकाका प्रतिभाशाली वैज्ञानिकहरूले आउँदो वर्षको अन्त्य अगावै औषधी वा खोपको समाधान निकाल्ने दावी गर्नुभयो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिवार २४ घण्टामा मात्र ४३ हजार भन्दा बढी संक्रमित फेला परेका थिए ।