मुजेलियामा शहिदगेट निर्माणको शिलान्यास

जनकपुरधाम ।धनुषाको ढल्केवरबाट जनकपुरधाम प्रवेश गर्दा अव भव्य प्रवेशद्वार देखिनेछ । ५७ फिट अग्लो र १०५ फिट चौडाइको ६ लेन सडकमाथि भगवान श्री रामले धनुष उचालेको सो प्रवेशद्वार शहिद गेट भनेर चिनिने छ, किनकि गेटको तीन मुख्य पिलरमाथि तीनजना शहीदको प्रतिमासमेत रहनेछ ।२०७२ सालमा संविधान जारी भएको विरोधमा भएको आन्दोलनमा धनुषाका युवाहरू संजय चौधरी, नितु यादव र दिलीप यादव प्रहरीको गोलीबाट मारिएपछि शहीद घोषणा गरिएको थियो । तीनजनै शहिदको अन्येष्टिसमेत गरिएको स्थलको छेउमा मुजेलिया स्थित ६ लेन राजमार्गमै जनकपुरधाम उपमहानगरपालिकाले साढे ३ करोडको लागतमा सो भव्य शहीद गेट बनाउन लागेको हो ।

एक समारोहबीच शनिबार मेयर लाल किशोर साहले जनता समाजवादी पार्टीका नेताहरूको उपस्थितिमा सो शहीद गेट निर्माण कार्यको शिलन्यास गर्नुभएको हो । मेयरमा जितेपछि सर्वप्रथम तिनैजना शहीदप्रति त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गरी उपमहानगरपालिकाको पहिलो बैठकको निर्णयमा शहीदहरूको सम्मानमा शहीद गेट निर्माण सुरु गरिएको मेयर साहले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले जितेपछिको पहिलो बैठकको महŒवपूर्ण निर्णयमा नै रहेकाले यो काम गरेको छु, आगामी आर्थिक वर्षमा गेटको समुदघाटनसमेत गर्नेछु ।’ भगवान् श्री रामको प्रतिमा र शहीदहरूको उपस्थितिले यस प्रवेशद्वारलाई ऐतिहासिक र धार्मिक महŒवसमेत बनाउने उहाँको भनाइ छ । जसपाका सांसद परमेश्वर साहले शहीदहरूको सम्मानमा हुने यस्ता कार्य सराहनीय रहेको बताउनुभयो । शहीदहरूको बलिदानी हामी कसरी भुल्ने ? साहले भन्नुभयो, ‘जनकपुरधाम उपमहानगरपालिकाले गरेको काम शहीदहरू प्रतिको सम्मान हो ।’

उपमेयर रिता झाले समेत आफूहरू शहीदहरूको बलिदानीको मूल्य कहिल्यै चुकाउन नसक्ने भन्दै सम्मानमा यो काम गर्न लागेको बताउनुभयो । शहीदगेटले जनकपुरधामको विशेषतामा थप विशेषण थप्ने र धार्मिक ऐतिहासिक तथा शहीदको स्मरण गराउने उहाँको भनाइ थियो । तत्कालीन समाजवादी तथा हाल जसपाका नेताहरू शेषनारायण यादव र पशुपति यादवले जनकपुरधाम उपमहानगरपालिकाको कामहरूमध्ये शहीद गेटको निर्माण र जनकपुरधाम नामाकंरण आफैमा गौरवशाली रहेको बताउनुभयो । कार्यक्रममा शहीद परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो ।