उत्तर कोरिया कोरोनामुक्त रहेको किमको दाबी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरिया कोरोना मुक्त रहेको दाबी गर्नुभएको छ । उहाँले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस आफ्नो देशमा नियन्त्रणमा रहेको बताउनुभएको हो । कोरोना संकटको लडाइँमा देशले ‘चमकदार सफलता’ प्राप्त गरेको दाबी उहाँको थियो । 

सत्तारुढ वर्कर्स पोलिटब्युरो बैठकका क्रममा बिहीबार नेता किम जोङले उत्तर कोरियामा यो भाइरसको अन्त्य गर्न सफल भएको र हाल स्थिति स्थिर रहेको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

उहाँले भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदम पर्याप्त नभए पनि यसलाई सुधार गर्दै अघि बढ्न अधिकारीलाई निर्देशन दिएको बताइएको छ । विश्वका अधिकाँश देशहरूले लकडाउन खुकुलो बनाउँदै लगे पनि उत्तर कोरियाले सार्वजनिक गतिविधिमा लगाएको रोकलाई अझै निरन्तरता दिने जनाएको छ । 

उत्तर कोरियामा सार्वजनिक शिक्षण संस्थाहरू सुचारु भए पनि अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न भने रोक लगाइएको छ । नेता किमले महामारीविरुद्ध लड्न निर्माण भइरहेका स्वास्थ्य संरचना निर्माणका काम तत्काल पूरा गरेर सञ्चालनमा ल्याउन पनि अधिकारीलाई निर्देशन दिनुभएको छ । विश्व स्वास्थ्य संगठनको निर्देशनअुनसारै उहाँले भीडभाडमा जाँदा भौतिक दूरी कायम गर्नुका साथै मास्कको प्रयोगमा कडाई गर्न निर्देशन दिनुभएको हो ।

विश्वभर कोरोना महामारी फैलिन सुरुवात गरेकै समयमा उत्तर कोरियाले आफ्नो सबै सीमा सिल गरेको थियो र हजारौं मानिसलाई आइसोलेसनमा राखेको थियो । उत्तर कोरियाको दाबी छ कि हाल देशमा एकजना पनि कोरोना संक्रमित छैनन् । यद्यपि विश्लेषकहरू यसलाई मान्न तयार छैनन् । उत्तर कोरियामा देशभित्र हिँडडुल गर्दा मास्क लगाउन अनिवार्य गरिएको छ ।