ट्रम्पको आक्रोश : कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा

वासिंटन । पटक–पटक आफ्नो अभिव्यक्तिलाई लिएर आलोचित बन्दै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एकपटक विवादमा तानिनुभएको छ । चीनविरुद्ध उहाँले दिनुभएको अभिव्यक्तिको कारण उहाँ विवादित बन्नुभएको हो । 

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)लाई ‘चिनियाँ प्लेग’को संज्ञा दिनुभएको छ । यसअघि पनि कोरोना फैलिनुमा चीन दोषी रहेको आरोप लगाउने गर्नुभएका ट्रम्प केही समय यस विषयमा चुप लाग्नुभएको थियो । तर फेरि चीनविरुद्ध उहाँ खनिन सुरु गर्नुभएको छ । 

अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिइरहेको बेला ट्रम्पले हृवाइट हाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो अभिव्यक्ति दिनुभएको हो । उहाँले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको गम्भीर आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पा¥यो ।’

चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गर्नुभएको थियो । तर, जब कोरोना संक्रमणले विश्वव्यापी महामारी लियो र अमेरिका सबैभन्दा बढी प्रभावित भयो, तब ट्रम्प चीनमाथि आक्रामक हुँदै आउनुभएको छ । उहाँले जानीबुझी चीनले भाइरस फैलाएको आरोपसमेत लगाउनुभयो । चीनको पक्ष लिएको भन्दै राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बन्द गराइसक्नुभएको छ । 

यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन आक्रोशित बनेको थियो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न चेतावनी दिनुभएको छ । 

१४औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फैलिएको ‘प्लेग रोग’का कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लिएको बताइन्छ । अहिले २१औं शताब्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ ।