संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने बताइएको छ । मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखेर सो निर्णय गर्नुभएको हो । 

नपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहबीच सरकारको यो निर्णयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको छ । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्न खोजेको आशंका गरिएको छ । परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ । ओलीको यो कदमपछि थप रणनीतिका लागि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आकस्मिक परामर्शमा जुट्नुभएको छ ।