सुशान्तको अन्तिम फिल्मको रिलिज घोषणा

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गर्नुपूर्व काम गरेको चलचित्र ‘दिल बेचारा’को रिलिज मिति घोषणा गरिएको छ । मुकेश छाबडाको डेब्यु निर्देशित यो चलचित्र आउँदो महिना अर्थात् जुलाई २४ मा रिलिज गरिने भएको छ ।

सुशान्तसँग सञ्जना सांघीले अभिनय गरेको यो चलचित्र हलमा भने रिलिज हुने छैन । यो चलचित्र ओटिटी प्लेटफर्ममा रिलिज गर्न लागेको चलचित्र निर्माण टिमले जनाएको छ । डिज्नी हटष्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने बताइएको छ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो चलचित्र सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । अभिनेता सुशान्तको अन्तिम चलचित्र भएका कारण दर्शकहरू यो फिल्म हेर्न व्यग्र प्रतिक्षामा हुनुहुन्छ । 

सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय करिअर सुरु गरेका सुशान्तलाई ‘पवित्र रिस्ता’ टेलिशृंखलाले लोकप्रियता दिलाएको थियो । सन् २०१३ मा ‘काई पो चे’ चलचित्रबाट अभिनेताको रूपमा डेब्यु गरेका उनको करिअरको सबैभन्दा ठूलो ब्लकबष्टर चलचित्र ‘एम.एस धोनीः अनटोल्ड स्टोरी’ हो ।

यस्तै सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छ । मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ । पाँचजना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गर्नु भएको थियो । 

मुम्बई प्रहरीले अब भिसेरा रिपोर्ट पर्खिरहेको छ । मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउन शरीरका केही आन्तरिक अंगलाई सुरक्षित राखिन्छ, जसलाई भिसेरा भनिन्छ ।

सुशान्त आत्महत्या प्रकरणमा उनसँग जोडिएका २३ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ । अझै अनुसन्धान जारी छ । सुशान्त ११ दिनअघि बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत शव फेला परेको थियो । उनले डिप्रेशनका कारण आत्महत्या गरेको बताइएको छ ।