युएई:= कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार फ्लाई दुबईको उडान नम्बर एफ जी (८६२७)मार्फत र हिमालय एयरलाइन्सको उडान न एच–९ (५६७२) गरि दुई वटा हवाईजहाजमा ३ सय ४६ जना नेपाली स्वदेश फर्किएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताएअनुसार फ्लाई दुबईको उडान मार्फत युएईको दुबई विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:०० बजे १ सय ८९ जना स्वदेश फर्किएका छन्। आजै बिहान हिमालय एयरलाइन्सको उडान मार्फत पनि युएईको आबुधावीबाट १ सय ५७ जना नेपाली स्वदेश फर्केको बताए।


फ्लाई दुबईको उडानबाट नेपाल फर्कने यात्रुहरुको कोरोना परीक्षण नभएको तर आज फर्कनेहरुमा धेरै संख्यामा नेपाली दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागीर गुमेका पीडितहरु रहेको शेर्पाले बताए। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्।
आजै आबुधावीबाट हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका नेपालीहरुको भने विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।
स्वदेश फर्किने नेपालीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका प्रतिनिधि विमानस्थल पुगेका थिए। साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।






















