चलचित्र नगरीलाई ठूलो धक्का

काठमाडौं । विश्वका २१३ मुलुकमा महामारीको रूपममा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरसले विगत तीन महिनादेखि नेपालमा पनि नराम्रो प्रभाव पारिरहेको छ । भाइरस फैलिन नदिन सरकारले आहृवान गरेको लकडाउनका कारण देशको अर्थतन्त्रमै ठूलो गिरावट आएको छ ।

थुप्रै व्यवसाय यतिखेर ठप्प छन्, लाखौं कर्मचारी बेरोजगार छन् करोडौंको घाटा व्यहोर्नुपरेको छ । यसैबीच लकडाउनले प्रत्यक्ष असर पारको अर्को महŒवपूर्ण क्षेत्र चलचित्र नगरी हो ।

वर्षेनी झण्डै डेढ सय चलचित्र निर्माण हुने र सय बढी चलचित्र रिलिजमा आउने नेपालमा यो तीन महिना कुनै पनि चलचित्र निर्माण तथा रिलिज हुन पाएका छैनन् । अहिलेको समयमा नेपालका डेढ सय बढी चलचित्रले करोडौंको घाटा बेहोरिसकेका छन् । काठमाडौं र मोफसलका सिंगल तथा मल्टिप्लेक्स हलहरूमा सातापिच्छे दुईदेखि चारवटासम्म चलचित्र रिलिजमा आउने गर्थे । 

ठूला ब्यानरका चलचित्रले एक सातामा कम्तीमा पनि दुईदेखि तीन करोडको आम्दानी गरेको तथ्यांक छ । यसअघिका चलचित्रले आम्दानी गरेको तथ्यांकसँग मूल्यांकन गर्दा पछिल्लो तीन महिनामा कम्तीमा १५ देखि २० चलचित्र रिलिज हुन पाएनन् र चलचित्र नगरीलाई कम्तीमा १० देखि १५ करोडको घाटा हुन पुगेको छ । यो चलचित्र रिलिज भइसकेको अन्दाजी आम्दानीको तथ्यांक हो । चलचित्र रिलिज पूर्वचलचित्र निर्माणको समयमा हुने व्यापारको तथ्यांक यो भन्दा धेरै ठूलो छ । 

पछिल्लो केही वर्षयता चलचित्र निर्माण गर्दा कम्तीमा पनि एक करोडको बजेट छुट्याउने गरेको पाइन्छ । पछिल्ला वर्षमा सर्वाधिक हिट भएका चलचित्रहरू दीपकराज गिरी र दीपाश्री निरौला टिमको छक्का पञ्जा रिलिज, भुवन केसी र अनमोल केसी टिमले निर्माण गर्ने चलचित्रलगायतको बजेट कम्तीमा पनि दुईदेखि तीन करोडसम्मको हुने गरेको छ । 

अन्य साना व्यानरका चलचित्रहरू पनि कम्तीमा ७० लाखदेखि १ करोडको बजेटमा निर्माण भएको पाइन्छ । अहिले छायांकनको लाइनमा रहेका दर्जनौं चलचित्र निर्माता पछि हटेका छन् । छायांकन पनि गर्ने कि नगर्ने भन्ने अन्योलमा देखिन्छन् । कोभिड १९ को माहामारी साम्य हुने छाँटकाँट नदेखिँदा यो त्रास कति महिलासम्म जाने हो भन्ने विषयमा बहस हुन थालेको छ । साथै चलचित्रमा लगानी गर्ने लगानीकर्ता चलचित्र नगरी कहिले तंग्रेला र चलचित्र निर्माण गरौंला भनेर बसेका छन् । तर अझै केही महिना चलचित्र नगरी ठप्पै हुने संकेत देखिएको छ ।

खासगरी चलचित्र हेर्न हलसम्म पुग्ने मनोरञ्जनका लागिमात्र भएकाले मनोरञ्जनका स्थलहरू अझै पनि आंशिक रूपमा पनि खुल्न सकेका छैनन् । विशेषगरी चलचित्रहल, क्लब तथा रेन्टुरेण्टहरूमा मानिसको भीडभाड बढी हुने भएकाले सरकारले यी विषयमा लकडाउन झन् कडा गरेको छ । त्यसैले पनि चलचित्र निर्माता तथा निर्देशक, कलाकारहरू थप चिन्तामा छन् । हजारौं कलाकार यतिखेर घरभित्रै थन्किएका छन् । 

विशेषगरी नेपालका कलाकारहरू कलाकारितासँगै अन्य व्यवसाय नगर्ने बढी छन् त्यसैले अधिकांश कालकार बेरोजगार बनेका छन् । कतिले भने युट्युब तथा सामाजिक सञ्जालहरूमा मनोरञ्जनका भिडियो हालेर ‘टाइम पास’ गरिरहेका छन् ।

सरकारले लकडाउन केही खुकुलो बनाएसँगै म्युजिक भिडियोहरू निर्माण गर्न थालिएका छन् तर चलचित्रका लागि ठूलो संख्यामा काम गर्ने मानिस जम्मा हुनुपर्ने हुनाले छायांकन हुन सकेका छैनन् भने सरकारले अनुमति दिएको छैन । कतिपय चलचित्रकर्मीहरू छायांकनस्थल खोज्न थालेका छन् भने कतिले चलचित्र निर्माणको घोषणा पनि गरेका छन् ।

निर्देशक मिलन चाम्सले चलचित्रकर्मीको मनोबल बढाउने भन्दै चलचित्र निर्माण गर्ने निर्णय गरेको बताउनु भएको छ । मिलनले लकडाउन खुल्नासाथ नयाँ चलचित्र निर्माण गर्ने भन्दै चलचित्र छायांकनमा उचित स्थान खोजिरहेको बताउनु भएको छ । अन्य केही निर्माता तथा निर्देशक भने सरकारसँग राहतको माग गर्न थाल्नुभएको छ । यता चलचित्र विकास बोर्डले चलचित्र निर्माता तथा निर्देशकलाई मनोबल बढाउन विभिन्न योजना ल्याउने तयारीमा रहेको बुझिएको छ । नेपाली चलचित्र नगरीलाई फेरि पहिलेको अवस्थासम्म ल्याउन सरकारले नयाँ कदम चाल्नुपर्ने देखिन्छ ।