काठमाडौं । केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस वर्ष जुन १२ अर्थात् (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो । महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ । ती क्षेत्रहरूमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा पश्चिमी वायुको प्रभाव र अन्य भू–भागमा मनसुनी वायुको असर रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



















