बुटवल- रुपन्देहीको सियारी र मायादेवी गाउँपालिका जोड्ने दानव नदीको निर्माणाधीन पुल भत्किएको छ । छपियाको कालिदह मन्दिर नजिक निर्माणाधीन पुल भत्किँदा २ इन्जिनियरसहित ६ जनाभन्दा बढी घाइते भएका छन् । जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट पुलको ढलान गरिएको गरिएको थियो ।
यो प्रविधिबाट ढलान गर्दा पुलको विममा डण्डी कंक्रिट सँगै झोलुंगे पुलको जस्तै लठ्ठा पनि राखिन्छ । पछि लठ्ठा दुई तिरबाट तन्काइन्छ । दुईदिन पछिमात्रै लठ्ठा तान्नुपर्ने भए पनि तिनाउ खोलामा आउने बाढीको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडि नै सुरक्षित गर्ने भन्दै लठ्ठा तानिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनिले बताउनुभयो । ‘बाढी आएर ढलानको टेका खोल्दियो बगाउँदै लग्यो । ढलान केही बेर धानियो । बाँकी धान्न लठ्ठा तन्काउनुपर्ने थियो,’ उहाँले भन्नुभयो, ‘लठ्ठा तान्ने क्रम सुरु हुँदै थियो । त्यही बेलामा पुल भत्कियो ।’ पुल भत्किदा एक करोडभन्दा बढीको क्षति भएको इन्जिनियर मरासिनीले बताउनुभयो ।
पुलको लठ्ठा तान्ने क्रममा पुल भत्किदा डिभिजनका इन्जियनर महेश्वर लम्साल र लठ्ठा तन्काउने प्राबिधिकको हात भाचिएको छ । डिभिजनका सव इन्जिनियर मुमबहादुर पल्लीसहित अन्य केहीलाई चोट लागेको छ । पुल निर्माणको लागि आर्थिक वर्ष २०७२÷०७३ मा ठेक्का सम्झौता गरिएको थियो । पुल असार मसान्तमा सक्ने गरी काम भइरहेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।



















