कतारबाट पाँच हजारभन्दा बढी नेपाली फर्किने प्रक्रियामा

काठमाडौं । कोरोनाका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नेपाली कामदार तथा अन्यको सूची कतारस्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किन चाहने ५ हजार ११२ जनाको सूची सार्वजनिक गरेको हो । प्राथमिकताका आधारमा स्वदेश फर्किनेको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको छ । आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ ।

त्यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि सूचीको प्राथमिकतामा छन् । यही जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट उनीहरू स्वदेश फर्किने दूतावासको सूचनामा उल्लेख छ । हवाई भाडा भने व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । हवाई टिकटको मूल्य ४ सय ९० अमेरिकी डलर तोकिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ(एनआरएनए) ले विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्धार गरिएको जनाएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार कुवेत सरकारको सहयोगमा २९९ जना नेपाली बिहीबार स्वदेश फर्किसकेका छन् ।

हालसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिएको एनआरएनएले जनाएको छ । अध्यक्ष पन्तले थप नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोरोनाको प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेको एनआरएनएले जनाएको छ । 

एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाको ठूलो प्रभाव रहेका ११ मुलुकमा एनआरएनएले करिब ७० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । यसअघि एनआरएनएले अप्ठ्यारोमा परेका नेपालीको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जनाएको छ ।