आन्दोलनको मागअनुसार खर्च विवरण सावर्जनिक

कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च

काठमाडौं । कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको १० अर्बको हिसाब पारदर्शी गर्न माग गर्दै विरोध प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ८ अर्ब ३९ करोडको खर्च विवरण सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक विवरणअनुसार अहिलेसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको हो । यसअघि सरकारले १० अर्ब खर्च भएको बताएको थियो । सोही अनुसार युवाले सडकमा ‘१० अर्ब खोइ ?’ भन्दै सरकारलाई खर्चको विवरण सार्वजनिक गर्न दबाब दिएका थिए ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी दिएपछि कोरोना नियन्त्रणमा रक्षा मन्त्रालयमार्फत खर्चको बजेट तुलनात्मक रुपमा बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५३ लाख ८३ हजार खर्च गरेको सीसीएमसीले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख खर्च गरेको जनाइएको छ । यी ६ वटा मन्त्रालयले कुल ४ अर्ब १० करोड ५५ लाख ६ हजार रकम खर्चेको देखिएको छ ।

औषधि र स्वास्थ्य सामग्री खरिद र व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी ३ अर्ब ९० करोड ८८ लाख खर्च भएको छ । यस्तै, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख नौ हजार गरी कुल ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

प्रदेशअन्तर्गत सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ । उक्त प्रदेशको कोरोना कोषमा ४२ करोड ५७ लाख २७ हजार रुपैयाँ रहेको सीसीएमसीले जनाएको छ । सबैभन्दा कम प्रदेश–५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ । उक्त प्रदेशको कोरोना कोषमा १५ करोड ६ लाख १७ हजार रुपैयाँ जम्मा भएको छ । सात वटा प्रदेशले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा कुल १ अर्ब ३० करोड चार लाख ९९ हजार रुपैयाँ खर्चेका छन् । सीसीएमसीकाअनुसार स्थानीय तहहरुले अहिलेसम्म २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेका छन् । स्थानीय तहको कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको जनाइएको छ ।