कथा रचना : मास्टरजीको कालो कोट

पाँचथरको यासोक गाउँमा जन्मिएका शार्दुलले दुखजिलो गरेर गाउँकै बिद्यालयबाट एसएलसी पास गर्छन्।घरको आर्थिक अवस्था कमजोर भएकाले उनीको उच्च शिक्षा अध्ययन गर्ने चाहनामा बाध्यतावस बिराम लाग्छ। जिविकोपार्जनको लागि उनीका बाबु पन्डित गद्यनाथ पुरेत्याइँ गर्ने गर्छन् र आमा चाहिँ गाईको स्याहार–सुसार गर्दै कोठेबारीमा तरकारी फलाएर नजिकैको बजारमा लगेर तरकारी र घ्यु बेचबिखन गर्र्ने गर्छिन्। पन्डितजी जजमानहरुकहाँ पुरेत्याइँ गर्न जाँदा हरहमेसा कालो कोट लगाएर जाने गर्छन् जुन बलियोे बिदेशी कोट एउटा ब्यापारी जजमानले उनीलाई दानमा दिएको थियो। घर फर्केपछि पन्डितले त्यो कोटलाई बडो जतनका साथ भित्ताको किलामा झुन्ड्याउने गर्छन्। शार्दुल पनि एसएलसी पास गरिसकेपछी किन बेइलम बस्नु भनेर आमालाई तरकारी खेती र गाईबस्तुको काम धन्दामा सहयोग गर्ने गर्र्छ। बुहारी भए आमालाई घरधन्दामा हन्बेर्नो हुन्थ्यो भन्ने लागेर पन्डितजीलाई आफ्नो छोरोको बिहे गरिदिने बिचार आउँछ र उनीले शार्दुलको लागि पल्लो गाउँ ओलानेमा पन्डित शालिनीप्रशादकी छोरी शिखरिणीलाई माग्न जान्छन्। बिहेको लागि दुबै तर्फ राजी हुन्छन्,कुरो छिनिन्छ र तिथीमिती मिलाएर पन्चैबाजा बजाउँदै पन्डितजीले घरमा बुहारी भित्र््याउँछन्। दुर्भाग्यवस,शार्दुलको बिहे गरेको छ महिनामै उनका बाबु जजमानकोमा रुद्रीपूजा गरेर घर फिर्दा बाटोमा पर्ने फेमे खोलाले बगाएर बित्छन्। त्यसको एक बर्षपछि उनकी दमरोगी आमाले पनि यो संसारबाट बिदा लिन्छिन््। आमाबाबुको देहावसानपछी टुहुरो भएको एकल सन्तान शार्दुल आफ्नी श्रीमतीलाई लिएर तराईतिर बसाईं सर्ने बिचार गर्छ। आफ्नो भएको दुई माउ लैना गाई सहितको जायजेथा छिमेकी सँधियारलाई सस्तैमा बेचेर शार्दुल बाबुको नाशोरुपी कालो कोट बडो प्रेमपुर्वक लगाएर पत्नी सहित झापाको होक्से गाउँमा बसाईं सर्छ। उ आफ्नो पहाडको जायजेथा बेचेको पैसाले होक्सेको भोटेटारमा चार कठ्ठा जग्गामा बनेको एकतले घर किनेर नजिकैको प्राथमिक बिद्यालयमा राहत कोटामा शिक्षकको रुपमा काम गर्न थाल्छ। बडो हँसिलो र मिजासिलो स्वभावको सिकुटे शार्दुल गाउँको बाटो हुँदै कालो कोट लगाएर स्कुलमा पढाउन जाँदा बडो भलाद्मी र आकर्षक देखिन्छ। स्कुलमा उसले बिद्यार्थीहरुलाई कथा भन्दै रमाइलोसँग पढाउने हुँदा बिद्यार्थीहरु उ सँग धेरै झुम्मिन्छन्।शार्दुलको बार्है महिना कालो कोट लगाउने बानी भएकाले स्कुले बालबालिकाहरुले उसलाई ‘कालोकोटे गुरुबा’ को पनि उपमा दिएका छन्। गाउँलेहरुले शार्दुललाई मास्टरजी र शिखरिणीलाई मास्टर्र्नीकोे उपमाले सम्बोधन गर्ने गर्छन्। स्कुलबाट फर्किदा प्रायःःउ सिधै घर आउँछ र आफ्नोे कोट फुकाली जतनको साथ चकको धुलो टक्टक्याएर भिताको किलामा सिउरिन्छ अनि शिखरिणीसँग बसेर चिया पिउँदै गफगाफ गर्ने गर्छ। त्यसपछी लोग्ने–स्वास्नी मिलेर घुरेनमा रोपिएका सागपात गोडमेल गर्ने,मसिना बिरुवाहरुमा पानी हाल्ने,गाईलाइ कुँडो खुवाउने,दुध दुहुने काम गरेर बेलुकाको खानपान गरेर दुखसुखका कुराहरु भलाकुसारी गर्दै अबेर सुत्ने गर्छन् ।बुधबार स्कुल आधा दिन मात्रै लाग्ने हुँदा दोपहरमा दुबै जना सौदापात गर्न बुधवारे बजार झर्ने गर्छन्। शार्दुलको कालो कोट उसको सान मात्र नभएर एउटा सानोतिनो सन्दुक पनि जसकोे भित्री खल्तीमा मासिक तलब, नागरिकता,जाग्गाको लालपुर्जा जस्ता महत्वपूर्ण कागजपत्रहरु हिफाजत सँग राखिएका हुन्छन्।यसरी शार्दुल र शिखरिणीको दिनचर्या बित्ने गर्छ।  समयको बित्दै जाँदा मास्टर दम्पतीलाई जुम्ल्याहा सन्तानलाभ हुन्छ।एउटै बेतमा पुत्रपुत्री प्राप्तीसँगै मास्टर– मास्टनीमा खुशीका लहरहरु दौडिन्छन् ।न्वारनमा पुरोहितले शिशुहरुको नाम कवी र कविता जुराउँछन्।समयको बहावसँगै कवी र कविता हलक्कै बढ्छन् र उनीहरु आफ्ना बाबुसँगै स्कुल जान थाल्छन्।सन्तान बृद्दीसँगै मास्टरजीलाई आफ्नो कमाईले छोराछोरीको स्कुलको फिस र बिबिध खर्चादीले गर्दा घरखर्च धान्न धौ धौ पर्छ। आफ्ना छोराछोरीे सदा खुशी भैरहुन् भन्ने कामना सबै बाबुआमाको हुन्छ त्यसैले अभावहरुको भुँवरीमा रूमलिएका मास्टर दम्पतीले आफ्नो गाँस काटेर भए पनि छोराछोरीका चाहनाहरु पुरा गर्न पछी पर्दैनन्।             

मास्टर दम्पती होक्सेमा बसाइँ सरेको पनि पन्ध्र बर्ष बितिसकेछ। एकदिन दशैको सौदापात गर्न उनीहरु आफ्ना छोराछोरीहरुलाई लिएर बुधवारे हाट जान्छन्।“नाईं म त यो सुतीकोे सर्ट–पाइन्ट त मरिगए पनि लगाउँदिन। म त दशैँमा जिन्सको पाइन्ट र छालाको ज्याकेट लगाउँछु।सँगैका साथीभाइहरुको अगाडी मलाई लाज हुँदैन?” “म चाहिें सधैं झुनाको कुर्था सुरुवाल लगाउनु? दशैँमा त म मलमलको चुडिदार कुर्था सुरुवाल लगाएरै छोड्छु। मेरा साथीसंगीले दशैंको लागि कस्ता राम्रा लुगा किनिसके।” बजार गएका छोराछोरीकोे गनगनले बाबुआमाको टाउको खान्छ।“नाथे एउटा प्राबि मास्टरको तलवले पुरै दशैंखर्च टार्नुपर्छ। मैले सौदापात, दशंैखर्च,खानाखर्च,तिमीहरुको फिस यही तलवले धान्नु पर्छ। नानी हो! बाबुआमाको मर्म कहिले बुझ्छौ तिमीहरूले?”छोराछोरीको जिद्दीले मास्टर–मास्टर्नी अँध्यारो मुख लगाउँदै मुखामुख गर्छन्। छोराछोरीको बालसुलभ जिद्दिबाट हार खाएर बुढाबुढीको पनि दशैँमा नयाँ लुगा लगाउने योजनालाई तिलाञ्जलि दिँदै मास्टरले आफ्नो कालो कोटको खल्तीबाट आफ्नो तलवको मोटो अंश निकालेर छोराछोरीको इच्छा पुरा गरिदिन्छन्।छोराछोरीको मुहारमा मुस्कान देखेर मास्टर दम्पती प्रफुल्लित हुँदै हाट भरेर घरतिर फर्कन्छन्। अनुशासन र सुसंस्कारमा हुर्किएका कवी–कविता एसईईमा उच्च अंक ल्याएर उतिर्ण हुन्छन्। उनीहरुको सफलताले बाबुआमा अचाक्ली खुशी हुन्छन्। आफुले बाध्यताबस उच्च शिक्षा अध्ययन गर्न नपाए पनि आधा पेट खाएर छोराछोरीलाई क्याम्पस पढाउने अठोट मास्टरजीले लिन्छन् र उनीहरुलाई उच्च अध्ययनको लागि नजिकैको त्रिभुवन उच्च माबिमा भर्ना गरिदिन्छन्। मास्टरजीलाई छोराछोरीको पढाई र घरखर्चको लागि आफ्नो तलब अपुग हुन्थ्योे। खर्च समस्या समाधानको मन्थनमा बुढाबुढीले राती ओच्छ्यानमा पल्टेर अबेर सम्म गन्थन गरिरहे। “ए हजुर! अब हामीले तीनवटा गाई र दुईचार वटा बाख्रा पालेर पुरै जमिनमा तरकारी खेती पनि गर्नुपर्छ है। त्यसो गरे खर्चको समस्या  समाधान गर्न सकिन्छ” शिखरिणीले शार्दुलको कपाल सुम्सुम्याउँदै भनिन्। “अती उत्तम उपाय निकाल्यौ शिखू तिमीले।” शिखरिणीको गालामा प्रेमपुर्वक प्याट्ट पार्दै शार्दुलले सहमती जनाउँछ। एउटा होक्सेको कृषि शहकारी संस्थाबाट ऋण लिएर उनीहरुले शनिस्चरे हाटबाट दुई माउ गाई र चार वटा बाख्राका पाठा किनेर ल्याउँछन्। आफ्नो जमिनभरी खनजोत गरी तरकारी खेती गर्छन्। जिम्मेवारी बढे सँगै आजकाल मास्टरजीको घरको दिनचर्या नै बदलिएको छ। आजकाल मास्टर–मास्टर्नी बिहान भालेको डाँकमै उठेर गाईको भकारा सोहोर्ने,गाईबाख्रालाई कुँडो खुवाउने,दुध दुहुने काम गरी घाम झुल्किए पछी चिया पिएर नजिकैको अँधेरी बनमा गई गाईबाख्रालाई दिनभरी पुग्ने घाँस लिएर आउँछन्।कवी–कविता बिहानै उठेर क्याम्पस जान्छन्।बनबाट फर्किएपछी मास्टरजी नुहाई–धुवाई गरेर नित्य पूजापाठमा लाग्छन् र मास्टर्नीले चुलोचौको सम्हाल्छिन्। त्यसपछी मास्टरजी खानपिन गरेर कालो कोट लगाएर जागिरमा निस्कन्छन्। दोपहरमा कवी–कविता क्याम्पसबाट घर फर्किई खानपिन गरेर आफ्नो गृहकार्य गर्छन् र दैनिक टिपिएका तरकारी र मोही पारेर निक्लिएको घ्यू बुधबारे बजारमा लगेर बेच्छन्।मास्टरजी स्कुलबाट फर्किएपछी चियाखाजा खाएर सपरिवार खेतमा गई बिरुवाको गोडमेल,सिँचाई र फलेका र पाकेका तरकारी टिप्ने काम गर्छन्। 

एकदिन मास्टरजीले सदा झैँ स्कुल जानु अघी भित्तामा झुन्ड्याइएको कालो कोट लगाउन खोजे तर त्यहाँ कोट फेला पारेनन्। उनी आत्तिदै खोजिनिती गर्न थाले।शिखरिणीले पनि घरभरी खोज्दा मास्टरजीको कोट कतै फेला पारिनन्। आफ्नो पीताको नाशो र श्रीसम्पतीको सन्दुकरुपी कालो कोटको अचानक  लुप्तताले रक्तचापका मधारी मास्टरजीको आधा पेट खाएर अती पारिश्रमले गलेको सिकुटे शरीर रिंगिदै सिकुवामा ढल्यो।शिखरिणीले आतिदै मास्टरजीको अनुहारमा पानी छर्किन् तर उनी बौरेनन्। मास्टर्नीको चिच्याहटले छिमेकीहरु भेला भए र मास्टरजीलाई तत्कालै अस्पताल लगियो तर उनी दुर्भाग्यबस काल नियतीको शिकार भए र मास्टरजीको मृतदेहलाई  सिधै बिरिङ्ग खोलाको घाटमा दाहसंस्कारको लागि लगियो।यो हृदयबिदारक घटनाको खबर चौतर्फी आगोको झिल्को झैं फैलियो। आफ्नो धोएर नसुकेको कोट लगाउन नमिलेर हतारमा बाबुलाई नभनी बाबुको कालो कोट लगाएर क्याम्पस गएको कवी रुँदै कराउँदै कवितालाई लिएर सिधै घाटमा पुग्छ।आर्तनाद सहित चितामाथी राखिएको मास्टरजीको लासलाई अंगाल्दै कवी–कविता र शिखरिणी फुटी फुटी रुन्छन्। गाउँलेहरुले उनीहरुलाई शान्तवना दिदै चिताबाट बाहिर तान्छन्। लाशलाई दागबत्ती दिन कवीलाई भनिन्छ र कवी भक्कानिदै चिता छेउ गएर आफुले लगाएको कालो कोट फुकालेर बाबुको लाशलाई ओडाइदिन्छ र अग्नीपुन्ज  हातमा लिन्छ।के सोचेर हो कविले एक पल्ट तिखो रोदनमिश्रित चित्कार गर्दै त्यो कोट लाशबाट झिकेर आफ्नो आङमा भिर्छ र दागबत्ती दिएर चिताको वरीपरी आगो झोस्छ। क्षणभर मै लाश खरानी बन्छ र बियोगका अश्रुधारा बहाउँदै मास्टरजीको बिक्षिप्त परिवार घरमुली बिहिन घरतिर लम्किन्छ। आजकाल बाबुको कालो कोटलाई कवीले बडो प्रेमपुर्वक घरको पूजाकोठामा झुन्ड्याएर राखेको छ। यो तीन पुस्ते ईतिहास बोकेको श्रद्देय चिनोलाई पुज्दै कवीले बाबुको सपना साकार पार्ने र बाबुकै संस्कारी पथमा हिंड्ने अठोट लिएको छ। अचेल कवीले यदाकदा यो कोट पहिरेर क्याम्पस जान थालेको छ। इती