हवाइ भाडा घट्यो

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले हवाइ भाडा घटाएको छ । हवाइ इन्धनको मूल्य समायोजनसँगै संघले न्यूनतम २२५ रुपैयाँदेखि बढीमा एक हजार १०५ रुपैयाँसम्म भाडा घटाएको हो ।

नेपाल आयल निगमले पछिल्लोपटक प्रतिलिटर हवाइ इन्धनमा क्रमश १५ रुपैयाँ र १० रुपैयाँ गरी २५ रुपैयाँ घटाएको थियो । सोही अनुपातमा हवाइ भाडा पनि समायोजन गरिएको वायु सेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिनुभयो ।

संघले हवाइ इन्धनको मूल्य घटाउनुपर्ने माग दोहो¥याएको छ । संघले आर्थिक वर्ष २०७७ ।७८ को बजेट तथा कार्यक्रममा वायुसेवाहरुलाई राहतस्वरुप हवाइ इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास शुल्क छुट गर्ने र थप भन्सार नलाग्ने व्यवस्थाअनुसार नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाउनुपर्ने माग गरेको हो ।

निगमले हालसम्म पनि भारतीय आयल निगमले उपलव्ध गराएको मूल्यअनुसार हवाइ इन्धनको मूल्य समायोजन नगरी प्रतिलिटर ६५ रुपैयाँ नै कायमै राखेकोले हवाइसेवा पुनः संचालनपूर्व इन्धनको मूल्य समायोजन हुनुपर्ने, हवाइजहाज पूर्ण क्षमतामा उडान गर्न पाउनुपर्ने, गन्तव्यमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था हुनुपर्ने, टयाक्सी तथा सार्वजनिक यातायातका सवारी साधन संचालन हुनुपर्ने माग गरेको छ । 

हवाइ सेवा संचालनको मुख्य हिस्सा हवाइ इन्धन भएकोले हवाइ यात्रालाई सर्वसुलभ बनाउन हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँमात्र मूनाफा लिइ घटाउनुपर्ने, अन्यथा हवाइ सेवा संचालन गर्न नसक्ने संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताउनुभयो ।