स्वदेश फर्किने नेपालीलाई चार्टर्ड हवाई उडान महंगो हुन्छ , कामदारको थर्मल टेस्ट ( शरीरको तापक्रम नाप्न ) मात्रै सम्भव छ । आरडिडि , पिसीआर टेस्ट गर्न लागे प्रक्रिया धेरै लामो र झन्झटिलो हुनजान्छ । बरु नेपाल फर्काएर स्थानीय तहको क्वारेन्टाइन अथवा काठमाडौंकै होटेल क्वारेन्टाइनमा राखेर कोरोना चेकजाँच गर्दा उत्तम हुन्छ्न।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया,साउदी,दुबई , लगायतका अन्तर्राष्ट्रिय मुलुकमा समस्यामा परेका कामदारहरुलाई स्वदेश फर्काउन सरकारले शुक्रबारदेखि चार्टर्ड उडान थाल्ने बताएको थियो । तर, नेपाल सरकारको तयारीमाथि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरुले नै गम्भीर प्रश्न उठाएका छन् ।
अधिकांश कामदाहरुलाई रोजगारदाता कम्पनीले नै टिकट काटेर पठाउनुपर्ने र कतिपयको हातमा टिकटसमेत भइसकेको,कामदार आफैंले पनि टिकट काटिसकेको अवस्थामा सरकारले किन महंगोमा चार्टड विमानमार्फत् नेपाल फर्काउन लागेको भन्ने प्रश्न राजदूतहरुले उठाएका छन् ।
श्रम रोजगार तथा पत्रकार समूहले अनलाइन प्रबिधि मार्फत शुक्रबार गरेको भर्चुअल छलफलमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने , ‘मलेसियामा चारवटा एयरलाइन्सले नियमित उडान गरिरहेका थिए, तिनलाई अब फेरि व्यवसायिक नियमित उडानका लागि स्वीकृति दिए प्रतिस्पर्धा हुन्छ, मूल्य तोक्छन्, जसलाई यहाँबाट जानु छ, उहाँहरुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गएर सजिलै टिकट लिएर जानुहुन्छ । त्यसो भयो भने धेरैखालको जटिलता हुँदैनथ्यो । हामी अहिले पनि त्यही माग नेपाल सरकारसंग गरिरहेका छौं । तर, सरकारका तर्फबाट अहिलेसम्म चार्टर्ड फ्लाइटकै कुरा आइरहेको छ ।’
महंगो विमान चार्टर्ड गर्नुभन्दा व्यवसायिक उडान खोलौं भन्ने भनाइ राजदुत पाण्डेको रहेको छ।
मलेसिया स्थित नेपाली दूतवासमा ६ हजार ३ सय ४३ जनाले सम्पर्क गरेर घर फर्किनुपर्ने कारणहरु बताउनुभएको छ । त्यसलाई प्राथमिकताका आधारमा सूचीकृत गरिसकेका छौँ।
सुचिमा पर्नेहरुमा बिरामी र गर्भवतीहरु २०१ जना रहेको बताए।अन्य चाहि कम्पनी संगको करार,श्रम सम्झौताको अवधि सकिएका ३ हजार १७५, रोजगारी गुमेका १ हजार २६, राजीनामा गरेर घर जान चाहने ९२२ र लामो विदामा घर जान चाहने १०५ जना रहेको पाण्डेले बताए।
राजदुत पाण्डेले थप्दै बोले कि , अहिले मलेसियामा एउटा नयाँ परिवर्तन आयो । विगतमा समस्यामा परेकाहरुलाई फर्काउनुपर्छ भनेर हामीले अलि अघिबाटै र्फम भराउने र सूचना लिने काम गरिरहेका थियौं । तर, त्यतिबेला जाने ईच्छा व्यक्त गर्नेहरु धेरै थिए । किनकि नेपालमा संक्रमण कम थियो, मलेसियामा बढिरहेको थियो । तर, दुई हप्तादेखि मलेसियामा संक्रमणको दर घट्दैछ र नेपालमा बढ्दैछ । यस कारणले पनि होला, विगतमा कतिपय घर जाने मनासय बनाउनुभएकाहरु पनि अहिले यतै बसौं कि भन्ने सोचमा देखिनुभएको छ । कतिपय भिसा थपेर काम गर्ने मानसिकतामा पुगेका छन् ।

हामीले पनि मिल्नेहरुलाई यतै बसेर काम गर्नुस्, स्थिति सहज भएपछि जानु उचित हुन्छ भनेर सल्लाह दिएका छौं । श्रमिकले मनस्थिति परिवर्तन गर्दा अब र्फम भरेकाहरुलाई पनि रि-चेक गर्नुपर्ने भएको छ । हामी त्यही काम गर्दछौं ।
हामीले नेपाल सरकारलाई सुरुबाटै लिखित र मौखिक रुपमा एउटा अनुरोध गर्दै आएका छौं, यदि सबैभन्दा सजिलो रुपमा नेपालीलाई घर जाने वातावरण बनाउने हो भने रोकिएको व्यवसायिक उडान खोल्नुपर्छ ।
मलेसियामा ४ वटा एयरलाइन्सले नियमित उडान गरिरहेका थिए, तिनलाई अब फेरि व्यवसायिक नियमित उडानका लागि स्वीकृति दिए प्रतिस्पर्धा हुन्छ, मूल्य तोक्छन्, जसलाई यहाँबाट जानु छ, उहाँहरुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरेर सजिलै टिकट लिएर जानुहुन्छ । त्यसो भयो भने धेरैखालको जटिलता हुँदैनथ्यो । हामी अहिले पनि त्यही माग गरिरहेका छौं। सरकारको तर्फबाट अहिलेसम्म चार्टर्ड फ्लाइटकै कुरा आइरहेको छ, चार्टर्ड फ्लाइट नै गर्ने कुरा हो भने समयमै हामीलाई त्यसबारे जानकारी आउनुपर्छ । अहिले हामी नेपाल सरकारले कुन मोडालिटीमा कहिले जहाज पठाउने हो र कहिलेबाट उद्धारको अनुमति दिने हो, त्यही कुरिरहेका छौं ।
हामी त विमान आउने हो भने ४/५ दिनपछि नै पठाउन थाल्न सक्छौं । तर, सरकारले व्यवसायिक उडान खोल्दियो भने वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरुले दररेट राखेर टिकट खुला गर्थे । यहाँ त धेरैको कम्पनीहरुले टिकट काटिदिएको अवस्था छ, ती टिकटहरुलाई अहिले मिति सार्दै राखिरहेको अवस्था छ । व्यवसायिक उडान खोल्दिने हो भने त्यो टिकट उपयोग हुने थियो ।
हैन, चार्टर्ड फ्लाइट नै आउने हो भने हामीलाई कम्तिमा ७ दिनअघि खबर चाहिन्छ । यो दिनमा, यति सिट संख्याको जहाज आउँछ भनेर जानकारी आएपछि हामी त्यहीअनुसार यहाँ तयारी गर्छौं । अब कसैको जाने चाहाना भएर पनि पैसा जुटाउन नसक्ला, पहिलो फ्लाइटमा जसले जुटाउन सक्छ, उसलाई हाल्नुपर्ला ।
अहिले र्फम भरेकाहरुले भोलि नजाने भन्ने अवस्था पनि आउन सक्छ । हामीले प्राथमिकतामा राखेकाले त्यसो गर्नुभयो भने त नेपालबाट फ्लाइट आउने अनि हामीले यहाँ मान्छे पुर्याउन नसक्ने, टिकट पूरा नहुने, मूल्यमा असमझदारी हुने लगायतका समस्याहरु उत्पन्न हुन सक्छन् । सजिलो उपाय भनेको त रेगुलर र कमर्सियल फ्लाइट खुलाउँदा नै हुन्छ ।
यहाँबाट हामीले अस्ति ७० दिनदेखि एयरपोर्टमा अलपत्र एकजनालाई विश्व खाद्य कार्यक्रमको विमान आफ्नो प्रतिनिधि लिन जाँदैछ भन्ने थाहा पाएर नेपाल पठायौं । तर, यस्तो अरु फ्लाइट पनि जान सक्ने सम्भावना छ । त्यस्तोमा निःशुल्क लैजाने सम्भावना हुन्छ । हामीले यसबारे पनि सरकारसँग कुरा गरेका छौं । सरकारले यस्ता फ्लाइट गर्ने संस्थालाई तपाईंले नेपाली ल्याइदिनुभयो भने हामी सहजै स्वीकार गर्छौं भनेर अनुरोध पत्र दिनुपर्छ ।
मलेसियामा अहिले कतिपयको काम गुमेको छ, कतिपय गैरकानूनी हैसियतमा हुनुहुन्छ, कतिपयले तलब पाउनुभएको छैन, कतिपयले कम्पनीबाट ‘चेक-आउट’ लिइसक्नुभएको छ । उहाँहरुलाई अहिले हामीले भनेर कम्पनीमा खाने बस्ने सुविधा दिलाएका छौं । नपाउनुभएकालाई दूतावास, एनआरएनए र अन्य नेपाली संघ संस्थाको सहयोगले खाने बस्ने व्यवस्था गरेका छौं । धेरै दिन यसरी होल्ड गरेर राख्न सक्दैनौं । डिर्पोटेसन सेन्टरमा २४६ जना जुनसुकै दिन घर पठाउन सकिने अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई नेपाल पठाउनैपर्ने हुन्छ ।




















