बर्माबाट २६ जना र युएईमा अलपत्र रहेका नेपालीलाई नेपाल फर्काइदै।

काठमाडौं := विदेशमा दुःख पाएका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो । काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो ।

यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ ।
युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान पहिलो उडान हुनेछ । नेपाली दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।

यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ।
दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ । 

सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका करिब करिब ४० हजार नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम तिब्र रुपमा गरिरहेका छन्।