गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताउनुभएको छ । बुधबार राजधानीमा अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले संक्रमण फैलिँदै जाने डर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गर्ने तयारी भएको पनि उल्लेख गर्नुभयो । ‘अब अहिलेसम्मको नीति परिवर्तन गर्नुपर्ने भएको छ । अतिसंवेदनशील बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिनेछ’, उहाँले भन्नुभयो, ‘सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितलाई क्वारेन्टाइन वा आइसोलेसन सेन्टरमा उपचार गर्छौं ।’

कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने उहाँको भनाइ थियो । सामान्य रुघाखोकी लागेका विरामीलाईसमेत कोरोनाको डरमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा वास्तविक कोरोना संक्रमितले उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्ने तर्क उहाँको छ । 

उहाँले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट पार्नुभयो । पछिल्लो समय देशभर २ हजार २ सय भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । कोभिड–१९ संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टीलेटर सेवासहितको उपचार कक्ष आवश्यक पर्छ । तर त्यसका लागि अहिलेसम्म आवश्यक पर्याप्त तयारी गरेको देखिँदैन । 

मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तीव्रता दिएको अवस्थामा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री प्राप्त हुँदा आफूहरूको मनोबल बढेको बताउनुभयो । उहाँले नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा बिरामीको उपचारलाई ध्यान दिँदै भेन्टीलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले मुलुकमा १५ हजारसम्म संक्रमित हुन सक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिनुभयो । 

चुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार ३० वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोनाभाइरसको संक्रमण भएका बिरामीहरूको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यसहित चुजी फाउन्डेसनले हेल्थ इन्भायोरोमेन्ट एन्ड काइभेट एक्सन फाउन्डेसन ‘हेकाफ ३६०’ मार्फत् सरकारलाई ३० ओटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पीपीई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लासलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले जानकारी दिनुभयो । कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री फाउण्डेशनले सहयोग गरेको मन्त्रालयले जनाएको छ । 

यसैबीच, सरकारले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने तयारी गरेको छ । पछिल्लो एक साता यता कोरोना भाइरसको संक्रमण दर बढेर जोखिम बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको जनाएको हो । मन्त्रालयले तयार पारेको जनस्वास्थ्य संकटकाल घोषणाको कार्ययोजना मन्त्रिपरिषदबाट पास हुनासाथ लागू हुने मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । नेपालमा कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्ने तयारी गरेको हो । सरकारले कोभिड–१९ सम्बन्धी ल्याएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अन्तर्गत २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने उल्लेख छ । 

सह–प्रवक्ता डा. अधिकारीले कोरोना भाइरस संक्रमितको २ हजार नाघेसँगै  जनस्वास्थ्य संकटकाल घोषणा गर्न बाटो खुलेको बताउनुभयो । ‘हाम्रो सुरुकै योजनामा २ हजार एक्टिभ केस पुगेपछि हेल्थ इमर्जेन्सी लगाउने तयारी थियो’, उहाँले भन्नुभयोे, ‘हामीले आवश्यक तयारी गरिरहेका छौं । पब्लिक हेल्थ इमर्जेन्सी घोषणा क्याबिनेटले गर्नुपर्छ ।’ मन्त्रालय स्रोतका अनुसार जनस्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रालयको तयारी अन्तिम अवस्थामा पुगेको छ ।