विदेशमा अलपत्र परेका नेपाली फर्काउन बजेट विनियोजन , तर फर्काउने कहिले ?

काठमाडाैं:= सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए । यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।
आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।

[ आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा ]

सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिवडाले बताए। कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ ।
कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र छन् । केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन्। अनौपचारिक तथ्याङ्कानुसार भारत, खाडी र मलेसियाबाट मात्र करीब छ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कँदै छन्। तर लकडाउनले हवाई यात्रा पुुुर्ण रूपमा बन्द रहेको छ । अलपत्र नेपालीलाई फर्काउने कहिले भन्ने बारे सरकार स्वयंम अन्यौलमा रहेका छ्न।