जेठ ४ गते मृत्यु भएका ब्यक्तिको शव परिवारले जलाइसकेको ८ दिनपछि कोरोना भाइरस पुष्टि।

काठमाडौं := क्षयरोग, दम लगायतको समस्या देखिएको
वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जेठ ४ गते मृत्यु भएको सो पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गर्दै सञ्चार माध्यमलाई जानकारी गराएका छ्न। ‘ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी रहेको बताइएको उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले भने,

कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको प्रश्न,जिज्ञासा्मा उनले नारायणीको ल्याब र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए । ‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’, उनले भने ‘हामी थप बुझ्दैछौँ ।’

स्रोतका अनुसार नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते नै परिवारलाई शव जिम्मा लगाएको थियो । अस्पतालबाट शव बुझेकै दिन आफन्तले बृद्धको अन्तिम संस्कार गरिसकेको बुझिएको छ । कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिँदा कमजोरी देखिएको भन्दै यसबारे छानबिन सुरु गरिएको बताए। उनका अनुसार संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो ।