लकडाउनमा अड्किएका रसुवाबासीलाई जिल्ला भित्र्याउन सुरु

रसुवा । लकडाउनका कारण रसुवा जिल्ला बाहिर अड्किएका रसुवाका नागरिकहरूको उद्धार गरी जिल्ला भिœयाउन सुरु गरिएको छ । संघीय सांसद मोहन आचार्य र जिल्लाका पाँचवटै स्थानीय तहले जिल्ला बाहिर अड्किएर बसेका नागरिकहरुको उद्धार गरी जिल्लामा भित्र्याउन सुरु गरेका हुन् । 

अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तसहित जिल्ला बाहिर अलपत्र तथा अड्किएका नागरिकहरूलाई जिल्लामा ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अड्किएका गाउँपालिकाका ६७ जना नागरिकलाई जिल्ला ल्याएको छ ।

गाउँपालिकाको वडा नम्बर २ बाहेकका वडाका १० जना बालबालिका, ४० जना महिला र २७ जना पुरुष गरी ६७ जनालाई उद्धार गरी आइतबार सदरमुकाम धुन्चे ल्याएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताउनुभयो । विगत लामो समयदेखि जारी गरिएको बन्दबन्दीमा परी काठमाडौंमा बस्दै आएका यस गाउँपालिकाअन्तर्गतका नागरिकहरूलाई गोसाइँकुण्ड गाउँपालिकाको पहलमा तोकिएको क्वारेन्टाईनमा बस्ने गरी दुईवटा बसमा उद्धार गरी धुन्चे ल्याईएको हो । 

उद्धार गरी ल्याइएका ६७ जनालाई सदरमुकाम धुन्चेस्थित कृषि, पशु कार्यालय भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । क्वारेन्टाइनमा दुईजना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटाइएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई खाजा, खानाको व्यवस्था सम्बन्धित गाउँपालिकाले नै गर्ने बताइएको छ । उनीहरूलाई बिहान ८ बजे खाजा, मध्यान्ह १२ बजे खाना, दिउँसो ४ बजे खाजा र बेलुकी ८ बजे खानाको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै, रसुवाको कालिका गाउँपालिकाले संखुवासभामा अलपत्र परेका रसुवाका २६ जना मजदुरको उद्धार गरी जिल्ला भिœयाएको छ । मजदुरीका लागि लकडाउन सुरु हुनु अघि नै संखुवासभा पुगेका उनीहरुलाई उद्धार गरी आइतबार जिल्लामा ल्याइएको हो ।

शनिबार संखुवासभाको खादबारी पुगेको टोलीले जिल्लाको कालिका गाउँपालिका–१ का २१ जना, उत्तरगया गाउँपालिका–२ का १ जना, काठमाडौंको ४ जना गरी २६ जनाको उद्धार गरी जिल्ला ल्याएको कालिका गाउँपालिकाका हेल्थ असिटेन्ट उत्सव पौडेलले बताउनुभयो । लकडाउन सुरु हुनु अघि नै मजदुरीका लागि गएका उनीहरू एउटा होटलमा थुनिएर बसेका थिए ।

त्यस्तै, संघीय सांसद मोहन आचार्यले लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका नागरिकहरूलाई पनि उद्धार गरी जिल्ला ल्याउन आवश्यक तयारी भइरहेको बताउनुभयो । उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाले पनि लकडाउनले अलपत्र परेका नागरिकलाई सोमबार साँझसम्ममा जिल्ला भिœयाउने तयारी भइरहेको जनाएका छन् । जिल्लामा पाँचवटा गाउँपलिकाले हालसम्म २११ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।